काठमाडौं । बैंकका कर्मचारी र सिमित व्यक्तिहरु मिलेर सर्वसाधरणको निक्षेप नै हडप्ने र बैंकलाई नै धरासयी बनाउने कर्णाली विकास बैंकको खेलपछि अहिले राज्यका दुई निकायले समान्तरण रुपमा कारबाही प्रक्रिया अघि बढाएका छन् ।
नियामक निकाय राष्ट्रले टेकओभर गर्दै कर्णाली बैंकलाई लयमा ल्याउने प्रयास गरिरहेको छ भने नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सिआईबी) ले यसरी बैंकको रकम अपचलन गर्नेमा संलग्नमाथि पक्राउ गरी कारबाही प्रक्रियालाई सँगसँगै अघि बढाएको छ ।
राष्ट्र बैंकको टेकओभरले बचतकर्ताहरुको रकम नबुब्ने र बैंक पुरानै लयमा फर्कने दिशामा पुगेको छ भने सिआईबीको सक्रियताले दोषीहरु कानुनी सजायको भागीदार हुने देखिएको हो ।
तत्कालीन सीईओ नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ र नेपालगन्ज शाखा प्रबन्धक दीपा थापालाई पक्रउा गरी सिआईबीले थप अनुसन्धान अघि बढाएको छ ।
बैंकबाट ठूलो रकम अनियमित रूपमा कर्जा प्रवाह गरिएको, केही कर्जामा धितोको मूल्यांकन र कागजातमा गम्भीर त्रुटि रहेको तथा आन्तरिक प्रक्रिया विपरीत निर्णय भएको थियो ।
नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकमा तीन अर्ब २० करोड रुपैयाँ भन्दा बढी रकम अपचलन भएको निष्कर्षसहित उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरिएको छ ।
मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइए पनि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतसहित चारजना पक्राउ परेको र अन्य १०५ जना फरार छन् । यो घटना सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० मा बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन आफैले सम्हालेको थियो ।




