Saturday, September 12, 2026
28.1 C
Kathmandu
Home अर्थ बिशेष हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।

नेपाल बीमा प्राधिकरणको प्रतिवेदनका आधारमा तयार अभियोगपत्रमा सुलभ अग्रवाललाई माेबिलाेन ट्रेड इन्टरनेशनल प्रालिका शेयरधनी तथा सञ्चालक अध्यक्षका रूपमा प्रतिवादी बनाइएको छ ।

अभियोगपत्रअनुसार हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरले ब्रोकर कमिसनका रूपमा ३ करोड ८२ लाख ५८ हजार ५० रुपैयाँभन्दा बढी प्राप्त गरेको देखिन्छ। यही रकमको कारोबारमा सुलभ अग्रवालले ५० लाख लिएकाे पाइएकाे हाे ।

यसरी भएकाे थियाे कमिशनकाे खेल

अनुसन्धानमा ट्रष्ट इन्स्योरेन्स ब्रोकरको खाताबाट ३ करोड ८० लाख मृदुला सरियाको खातामा पुगेको देखिएको छ।

मृदुलाले अनुसन्धानका क्रममा दिएको बयानमा उक्त रकम आफूले ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई आफ्नो झापास्थित जग्गा बिक्री गर्ने भन्दै ‘बैना’का रूपमा लिएको बताएकी छन्। तर सो जग्गा अहिलेसम्म पास नभएको र बाँकी रकम पनि आफूले नलिएको उनको बयान छ।

त्यसपछि यही ३ करोड ८० लाखमध्ये करिब २ करोड ५० लाख संजयकुमार गुप्ताको नाममा र करिब रु. १ करोड ३० लाख अर्को कम्पनीको नाममा चेक काटेर दिएको मृदुलाले बयानमा उल्लेख गरेकी छन्।

यही कारोबारको सबैभन्दा महत्वपूर्ण कडी सुलभ अग्रवालसँग जोडिन्छ।

अभियोगपत्रमा मृदुला सरियाबाट ५० लाख माेबिलाेन ट्रेड इन्टरनेशनल प्रालिमा रकम गएको उल्लेख छ। प्रालिका सञ्चालक अध्यक्षा सुलभ अग्रवाल हुन् । उनकाे एकल सिग्नेचरमा खाता सञ्चालन हुने गर्छ ।

अनुसन्धानका क्रममा सुलभले पनि मृदुला सरियाबाट आफ्नो कम्पनीले रकम लिएको स्वीकार गरेका छन्। तर उनले उक्त रकम सापटीका रूपमा लिएको र त्यसको स्रोत हिमालयन रिइन्स्योरेन्सबाट आएको भन्ने आफूलाई जानकारी नभएको बयान दिएका छन्।

उनले आफ्नो बचाउ गर्दै गरेकाे बयानमा कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन कर्जा सीमा नपुगेका कारण व्यक्तिगत सापट रकम लिएको उल्लेख गरेका छन् ।

यसरी हिमालयन रिइन्स्योरेन्सको रकम सुरुमा कमिशनको नामबाट निस्केर अन्तिममा जग्गा कारोबार त कतै सापटीका नाममा व्यक्तिका खातामा पुगेको हो ।

अभियोगपत्रमा बीमा कम्पनीलाई हानि नोक्सानी पुर्‍याएर ट्रष्ट ब्रोकरले गैरकानुनी रूपमा रकम प्राप्त गरेको र त्यसपछि रकम अन्य व्यक्तिहरू तथा कम्पनीतर्फ गएको विषयमा अनुसन्धान गरिएको छ।

यही कारोबारमा सुलभ अग्रवालको कम्पनीसम्म ५० लाख रुपैयाँ पुगेको तथ्य र उनले उक्त रकम सापटीका रूपमा लिएको स्वीकार गरेको बयानलाई अनुसन्धानको महत्वपूर्ण आधार बनाइएको छ ।

विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पनि उनी विरुद्ध मुद्दा चलिरहेको छ । बिचाैलिया दिपक भट्टसँगकाे मिलेमताेमा बीमा कम्पनीको रकम दुरुपयोग गरी शेयर कारोबारमार्फत रकमलाई वैध देखाउनेमा उनकाे भूमिका रहेकाे छ । उनलाई २५ अर्ब बराबरको बिगो माग गरिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।