भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एउटै चुनाव चिन्हमा चुनाव लड्ने सहमति भएको छ । फाेरमको चुनाव चिह्न प्रयोग गर्ने भएसँगै नयाँ शक्ति सैद्धान्तिक र नैतिक रुपमा यादव नेतृत्वको फोरममा बिलय उन्मुख बनेको छ ।
स्रोतका अनुसार दुई पार्टीबिच पार्टी एकीकरण गर्ने विषय पनि अन्तिम चरणमा पुगेको छ । जस अनुसार अध्यक्ष यादवलाई नै मानेर भट्टराई जाने सम्भावना रहेको बताइन्छ ।
यता, चुनावको तयारीका लागि संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन गरेर समाजवादी फोरम र नयाँ शक्ति चुनावमा होमिएका छन् ।
अब बाबुराम भट्टराई हातले समातेको मशाल चुनाव चिन्ह लिएर भोट माग्न गाउँगाउँ पुग्ने भएका छन् । दुवै दलले चुनाव परिचालन र संयोजनका लागि संयुक्त समिति गठन गरेका छन् ।
चुनाव तयारीका लागि प्रदेश, जिल्ला तथा स्थानीय तहमा समेत संयन्त्र गठन गरी तदारुकताकासाथ काम गर्ने, दुवै दलका नेता कार्यकर्ता चुनावका लागि एकसाथ खटिने र विवाद आए स्थानीय तहमै समाधान गर्ने र समाधान हुन नसकेका विषय केन्द्रमा पठाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।








