चैत । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले सुशासनसहितको वित्तीय स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै राष्ट्रलाई सर्वोपरी मानेर देशको आर्थिक उन्नयनका निम्ति आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । “निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थासँग समन्वय कायम गर्दै वैदेशिक लगानी भित्र्याउन निरन्तर लागिरहने छु,”– केन्द्रीय बैंकका सबैेको साथ र सहयोगमा निर्धारित लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले भने ।
सरकारको आर्थिक सल्लाहकार केन्द्रीय बैंकले मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन आवश्यक पर्ने नीति तर्जुमाका साथै मौजुदा ऐन, विनियमको पूर्ण कार्यान्वयन गर्ने बताउँँदै उनले अन्तर्राष्ट्रिस्तरमा गरिएका प्रतिबद्धता पूरा गर्न पनि आफू इमान्दारीपूर्वक लाग्ने स्पष्ट गरे ।
बैङ्क तथा वित्तीय संस्थाको सुदृढीकरण, वित्तीय पारदर्शिता, मानव संशाधनको विकास र सबल केन्द्रीय बैंकका रुपमा नेपाल राष्ट्र बैङ्कलाई नेतृत्व दिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत गभर्नर नेपालले व्यक्त गरे ।
नियमनकारी निकायमा काम गरेर आइसकेकाले आफूलाई सुपरीवेक्षण लगायत काम नौला नभएका भन्दै वित्तीय अपराध नियन्त्रण, सुशासन प्रवद्र्धन, जनविश्वास आर्जनलाई पनि आफूले उत्तिकै प्राथमिकता दिएको जानकारी दिए । “सुशासनको अभावमा विदेशी लगानी आकर्षित गर्न कठिन हुन्छ,” पर्याप्त लगानीको अभावमा राष्ट्रलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन नसकिने यथार्थ औँल्याउँदै उनले भने ।
वित्तीय सेवाबाट वञ्चित भएका ६० प्रतिशत जनतालाई बैंक तथा वित्तीय सेवाको पहुँचभित्र समाहित गर्ने, निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न बचत परिचालन गर्ने र अनौपचारिक क्षेत्रको कारोबार नियन्त्रणलाई उत्तिकै महत्वका साथ अघि बढाउने आफ्नो योजना सुनाउँदै गभर्नर नेपालले सरकारी बैंकका साथै निजी क्षेत्रका सबै बैंक तथा वित्तीय संस्था एवम् केन्द्रीय बैंकका कर्मचारीको सक्रिय सहयोगको अपेक्षा आफूले गरेको बताए ।
कार्यक्रममा डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीले मुलुकको आर्थिक सूचकाङ्क सकारात्मक रहेका र वित्तीय क्षेत्रको स्वास्थ्य पनि सुदृढ रहेका बेला केन्द्रीय बैंकको नेतृत्वमा आउनुभएका श्री नेपाललाई हरतरहले सघाउने प्रतिबद्धता व्यक्त गरे ।







