नेपाल कोरिया व्यापार सहयोगबारे छलफल

काठमाडौँ, १५ साउन । नेपाल चेम्बर अफ कमर्सले दक्षिण कोरियासँगको व्यापार असन्तुलन घटाउने प्रयासमा सहयोग गर्न उक्त  मुलुकसँग आग्रह गरेको छ ।

नेपालका लागि कोरियाली राजदूत चो योङ जिनसँग चेम्बरले  आयोजना गरेको कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी  श्रेष्ठले कोरियासँगको  नेपालको व्यापार घाटामा रहेको भन्दै त्यसलाई घटाउने उपायको खोजीका निम्ति आग्रह गरे ।

निर्यातको तुलनामा आयात अत्यन्त ठूलो परिमाणमा बढिरहेको बताउदै उनले कृषि, पर्यटन, विद्युत् उत्पादन, प्रविधि र पर्यटन क्षेत्रमा कोरियाली लगानीकर्तालाई प्रोत्साहन गर्न अनुरोध गरे ।

सदस्य मुलुकहरूको विकासका लागि क्षेत्रीयस्तरमा सहकार्य गर्नुपर्नेमा कोरियाले जोड दिएको भन्दै राजदूत चोले नेपालसँगको व्यापार असन्तुलन तत्काल हटाउन नसकिने र त्यसका लागि औद्योगिक विकास आवश्यक पर्ने विचार व्यक्त गरे ।

बर्सेनि ३० हजार कोरियाली पर्यटक नेपाल भ्रमणमा आउने गरेका तथा २३ हजार नेपाली कामदार रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा काम गरिरहेका जानकारी दिँदै उनले आफ्नो कार्यकालमा कोरिया–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु–याउने दृढता व्यक्त गरे ।
उनले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)अन्तर्गत धेरै कोरियाली स्वयम्सेवकले नेपालको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक क्षेत्रका साथै विकास निर्माणका अन्य क्षेत्रमा सघाउँदै आएका बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।