चैत्र १२ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको आगामी नवौँ महाधिवेशनबाट पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् ।
जनकपुरमा बुधवार आयोजित पत्रकार भेटघाटमा बोल्दै नेपालले यस्तो बताएका हुन् । पार्टीको अगामी महाधिवेशनले सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने नेतृत्व छान्ने समेत दाबी गरेका उनले सञ्चारकर्मीको जिज्ञासामा यस्तो प्रतिक्रिया दिएका हुन । ‘पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ता जे निर्णय गर्छ म मान्न तयार छु,’ उनले भने, ‘सबैले निर्णय गरे भने आफू नेतृत्व लिन तयार छु।’ अहिले आगामी महाधिवेशनबाट कसले नेतृत्व लिने भन्ने वारेमा पार्टी भित्र नै विवाद भइरहेका बेला नेपालको यस्तो भनाई आएको हो ।
नेपालले प्रधानमन्त्री सुशील कोइराला स्थानीय चुनाव गर्न डराएको समेत टिप्पणी गरेका थिए । ‘चुनाव गराउने आाट कोइरालाजी लाई छैन,’ उनले भने, ‘म प्रधानमन्त्री भएको भए चुनाव भइसक्थ्यो ।’
सरकारमा रहेको कांग्रेस, एमाले र एमाओवादीसहित लगभग सवै दलको घोषणापत्रमा छिट्टै स्थानीय निकायको चुनाव गराउने उल्लेख रहँदारहँदै पनि प्रधानमन्त्री अग्रसर नदेखिएको भन्दै उनले प्रश्न गरे । एमाओवादीलगायतका दलहरुरुले नमाने पनि चुनावको मिति चाडै घोषणा गरिनुपर्नेमा उनको जोड थियो ।




