अभियुक्तको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्ती : भिडियो कसरी बाहिरियो, अनुसन्धानमाथि किन उठ्यो प्रश्न ?

काठमाडौं । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तको घटनासम्बन्धी बयानको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन थालेको छ।

अभियुक्तले घटनाबारे बयान दिइरहेको देखिने भिडियो विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा प्रसारित भएपछि घटनाको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठ्न थालेको छ। विशेषगरी अनुसन्धानका क्रममा लिइएको बयानजस्तो देखिने सामग्री सर्वसाधारणको पहुँचमा कसरी पुग्यो भन्ने प्रश्न गम्भीर बनेको छ।

अभियुक्तको बयान अनुसन्धानको संवेदनशील सामग्री हो। यस्तो सामग्री अनुसन्धान पूरा हुनुअघि सार्वजनिक हुँदा घटनाको प्रमाण, साक्षीको बयान र अनुसन्धानको निष्पक्षतामाथि असर पर्न सक्ने जोखिम हुन्छ। अझ बालिकासम्बन्धी जघन्य अपराधमा पीडित परिवार, अभियुक्त र अनुसन्धानसँग जोडिएका संवेदनशील विवरण सार्वजनिक गर्नुले गोपनीयताको प्रश्नसमेत उठेकाे छ ।

भिडियो कहाँबाट बाहिरियो ?
अहिलेसम्म सार्वजनिक रूपमा उपलब्ध सूचनाबाट उक्त भिडियो कसले खिच्यो, कसले उपलब्ध गरायो र पहिलोपटक कुन माध्यमबाट बाहिरियो भन्ने स्पष्ट भइसकेको छैन ।

सामाजिक सञ्जालमा भिडियो व्यापक रूपमा फैलिएको भए पनि त्यसलाई प्रहरीको आधिकारिक विज्ञप्ति वा आधिकारिक प्रकाशनका रूपमा पुष्टि गर्ने आधार भेटिएको छैन।

त्यसैले ‘प्रहरीकै हिरासतबाट भिडियो चुहियो’ वा ‘प्रहरीले नै भिडियो सार्वजनिक गर्‍यो’ भन्ने अनुसन्धानकाे विषय बनेकाे छ ।

तर अनुसन्धानसँग सम्बन्धित संवेदनशील सामग्री सामाजिक सञ्जालसम्म पुग्दा प्रहरीको आन्तरिक सुरक्षाकाे विषयमाथि भने गम्भीर प्रश्न उठेकाे छ ।

प्रहरीले पनि यस विषयमा आन्तरिक रूपमा छानबिन अघि बढाएकाे छ । बाराका प्रहरी प्रमुखमाथि हेडक्वार्टरले साेधपुछ थालिसकेकाे छ ।

सडकदेखि सदनसम्म प्रश्न
गरिमा चौधरी प्रकरण अहिले प्रहरी अनुसन्धानको विषय मात्र रहेन। घटनालाई लिएर सडकमा प्रदर्शन भएका छन् भने सांसदहरूले समेत सरकारसँग जवाफ मागेका छन्।

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति पनि भइसकेको छ। सहमतिअनुसार जघन्य आपराधिक घटनासम्बन्धी विद्यमान कानुन र सजायका व्यवस्था पुनरावलोकन गरी सुझाव दिन समिति गठन गर्ने निर्णय भएको छ।

गरिमा हत्याका आरोपीको भिडिओ सार्वजनिक गरेकोप्रति रास्वपाका महामन्त्री विपिन आचार्यले संसदमै आलाेचना गरेका छन् ।

उनले मृतकका बुवाआमाले ‘धन्यवाद’ भनेको भिडिओ मन्त्रालयमा खिचिएकोमा पनि आपत्ति जनाए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।