फागुन २५ । हतियारसहित पक्राउ परेका आफ्ना कार्यकर्तालाई विना सर्त रिहा गर्न माग गर्दै नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राजधानीमा आन्दोलन जारी राखेको छ ।
पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई तत्काल रिहा गर्न सरकारसँग उक्त सङ्गठनले माग गरेको छ । संघले आइतवार विहान पत्रकार सम्मेलन गरी गत फागुन १९ मा पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको थियो।
पत्रकार सम्मेलनमा नेविसंघ अध्यक्ष एवम् सभासद रञ्जित कर्णले सरकारवाट अनुमति प्राप्त हतियारलाई गैरकानूनी भनेर पक्राउ गर्नु आपत्तिजनक भएको वताएका थिए । पक्राउ परेकासँग प्रहरीले बरामद गरेका हतियार सरकारवाट अनुमति प्राप्त भएको उनको जिकिर थियो ।
आफ्ना कार्यकर्ता हतियारसहित प्रक्राउको विरोध गर्दै रिहा गर्न माग गरिरहेको नेविसंघ प्रधानमन्त्रीकै पार्टी कांग्रेस कार्यकर्ता हुन् ।
प्रहरीले गत फागुन १९ गते नेविसङ्घका पूर्व सहमहामन्त्री सचित शर्मा, शङ्करदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, विद्यार्थी नेताहरु राकेशविक्रम शाही, लीलाबहादुर खड्का र जोन खड्कालाई हतियारसहित काठमाडौँको स्वयम्भूवाट पक्राउ गरेको थियो । पक्राउ परेका नेताहरुको साथवाट प्रहरीले १२ बोरको तीन थान बन्दुक बरामद गरेको थियो ।
Comments







