बेलायतको सर्वोच्च अदालतले बुधबार विकिलिक्सका संस्थापक जुलियान असान्जेलाई स्विडेन हस्तान्तरण गर्न सकिने निर्णय सुनाएको छ । यसो भए पनि अदालतले असान्जेका कानुनव्यवसायीलाई यस मुद्दालाई एकपटक पुनरावेदन गर्न हाल हस्तान्तरणको कार्य भने रोकेर राखेको छ ।
बेलायतका उच्च अदालतले असान्जेका कानुनव्यवसायीले स्विडेनका न्यायाधीवक्तालाई यौन अपराधका लागि पक्राउ आदेश जारी गर्ने अधिकार नभएको भन्ने दाबीलाई भने अस्वीकार गरेको छ ।
यस विषयमा न्यायाधीशहरू पाँच तथा दुई गरी दुई भागमा विभाजित हुनुभएको छ र बहुमतले स्विडेनको न्यायाधीवक्तालाई यस्तो पक्राउ आदेश जारी गर्ने अधिकार भएको उल्लेख गर्नुभएको छ ।
निर्णय सुनाउँदै सर्वोच्च अदालतका अध्यक्ष निकोलस फिलिप्सले असान्जेलाई हस्तान्तरण गर्न कानुनीरूपमा आग्रह भएको र यसका विरुद्ध असान्जेले गर्नुभएको पुनरावेदनलाई खारेज गरिएको बताउनुभयो ।
तर असान्जेका कानुनव्यवसायी डिनाह रोजले न्यायाधीशलाई यस विषयलाई १४ दिनसम्म विचाराधिनमा राख्न आग्रह गर्नुभएको छ । न्यायाधीशले पनि यस्तो आग्रहलाई स्वीकार गर्नुभएको छ र बेलायतको सर्वोच्च अदालतको गत तीन वर्षमा यस प्रकारको कार्य विरलै भएको थियो ।
पूर्व कम्प्युटर ह्याकर ४० वर्षीय असान्जे उक्त निर्णय सुन्न अदालतमा उपस्थित हुनुहुन्थेन । उहाँका एक सहयोगी पत्रकार जोन पिलगरले उहाँ यातायात अवरोधमा परेको बताउनुभयो ।
निर्णय भइसकेपछि यस विषयमा अदालतमा पुनरावेदन दिने वा नदिने भन्ने विचार गरिने असान्जेका प्रमुख कानुनव्यवसायी गारेथ पियर्सले बताउनुभयो ।
यस मुद्दामा सन्धिसम्बन्धी नियमको भियना महासन्धिको व्याख्या प्रमुख विषय रहेको छ ।
पियर्सले यस विषयमा पुनरावेदनका समयमा कहिल्यै कुरा नउठेको पनि उल्लेख गर्नुभयो ।
असान्जेले आफ्नो मुद्दा बेलायती अदालतमा पुनः उठाउन नसके यस विषयमा स्टार्सबर्गमा रहेको मानव अधिकारका लागि युरोपेली अदालतमा अन्तिम पुनरावेदन गर्न सक्नुहुन्छ ।
असान्जेले आफू स्विडेनमा विकिलिक्सको एक गोष्ठीमा भाग लिँदा विकिलिक्सका दुई स्वयंसेवीसँग यौन सम्पर्क भएको कुरालाई अस्वीकार गर्नुभएको छैन तर उहाँले यो सम्पर्क आपसी समझदारीमा भएको दाबी गर्नुभएको छ । उहाँले आफूलाई हस्तान्तरण गर्ने कुरा राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गर्नुभएको छ ।
यी महिलाले भने आफूमाथि बलात्कार भएको आरोप लगाएकी छन् ।
असान्जेका आमा क्रिस्टिनले अदालतको निर्णय अगाडि आफ्नो छोरोप्रति विश्वको सबैभन्दा ठूलो सरकार पछि लागेकाले उसको जीवन २४ घण्टा नै कष्टकर भएको बताउनुभयो ।
उहाँले अस्ट्रेलियाको टेलिभिजनलमा आफ्नो छोरामाथि आधारहीन आरोप लगाइएको र स्विडेनमा आफ्नो छोरालाई एक्लोरूपमा थुनिने र उसका सूचना बाहिर आउन नसक्ने बनाइने धारणा व्यक्त गर्नुभयो ।
असान्जेको वेबसाइटले वासिङ्टनलाई क्रुद्ध बनाएको छ । असान्जेविरुद्ध सन् २०१० मा युरोपेली पक्राउ आदेश जारी भएको छ । सर्वोच्च अदालत उहाँका लागि पुनरावेदनको अन्तिम स्थान हो ।
अर्कोतिर रसियाको राज्यद्वारा सञ्चालन भएको आरटी च्यानलले असान्जेले सञ्चालन गरिरहनुभएको कार्यक्रम कायमै रहने जनाएको छ । रासस/एएफपी