श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात् नाग वा सर्पको पूजा गर्ने दिन हो । आजको दिन बिहानै उठी स्नान गरी दीप,कलश,गणेश पूजा गरि गोबरको नाग बनाई नागको मानचित्रमा दही, दूबो,कुश, सिन्दुर, चन्दन आदिले पूजा गरि ढोकामा टाँस्नाले सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेकोछ । नागहरू जस्तै अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट, शंखनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । यसरी विभिन्न नागको चित्र घरमा टाँस्नाले चट्याङले नहान्ने, आगो तथा सर्पको भए नहुने हाम्रो धार्मिक आस्था तथा विश्वास रहिआएको छ ।
स्कन्द पुराण अनुसार आज नागको पूजा गर्नाले मनोकामना पूर्ण हुन्छ भनी वर्णन गरिएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरु भएको मानिन्छ । ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास रहँदै आएको छ । कुनै पनि घर तथा बङ्गाला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए विधिवत रूपमा पूजा आजा गरि पन्छाए नागको दोषबाट मुक्त हुन धार्मिक जन विश्वास रही आएको छ ।
नाग पञ्चमीको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरि सूर्यास्त भए पछि नाग देवताको मूर्तिमा विभिन्न सामानहरू जस्तै फुल, प्रसाद तथा फलले पूजा आजा गरि प्रसाद बाँड्ने तथा आफूले पनि लिने गर्दछन् । यसरी श्रावण शुक्ल पञ्चमीको दिन श्रद्धा तथा भक्तिका साथ मनाइने यो पर्व हिन्दुधर्मावलम्बिहरुले धूमधामका साथ मनाउने गर्दछन् ।







