लेभल फरक भएको युझोलिन–१००० औषधी अहिले पनि बजार छ्यापछ्याप्ती

काठमाडौं । औषधी व्यवस्था विभाग र भारतीय कम्पनी युमेडिकाको नेपालस्थित आधिकारिक बिक्रेता कम्पनीको बेवास्ता र हेलचेक्राईका कारण लेभल फरक भएको युझोलिन–१००० औषधी अहिले पनि बजारमा खुलेखुलाम बिक्री वितरण भइरहेको पाइएको छ ।

मेडिकल सञ्चालकले उक्त औषधीको कभर एउटा र भित्र औषधी अर्कै परेको जानकारी चार दिन अगाडी नै औषधी व्यवस्था विभाग र नेपालस्थित आधिकारिक बिक्रेता कम्पनीलाई गराउँदा पनि नियामक निकाय विभाग र आधिकारिक बिक्रेता कम्पनी नेपालस्थित आधिकारिक बिक्रेता, फर्मा डाईनामिक प्रा.लि तथा फर्माकेयर ईन्टरनेशनल प्रा.लि कानमा तेल हालेर बसेको हो ।

फर्माकेयर ईन्टरनेशनल प्रा.लि बानेश्वरका सञ्चालक तथा औषधी व्यवसायी संघका केन्द्रीय सदस्य श्रीजन भट्टराईले कम्पनीबाट गल्ती भएको जनाउँदै देशभरीबाट उक्त ब्याचको औषधी रिकल गर्ने बताएपनि उनले अहिले फिर्ता नगरी मानिसको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको छ ।
नियामक निकाय औषधी व्यवस्था विभाग समेत आश्चर्यजनक ढंगले चुप लागेर बसेको छ । यो घटनाको जानकारी मंगलबार बिहान ८ः४५ मा विभागका किरण बज्रचार्यलाई गराइएको पाइएको छ । त्यसयता विभागले अहिलेसम्म कुनै कदम चालेको छैन । विभागका सुचना अधिकारी सन्तोष केसीलाई हामीले यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेका छैनन् ।

युमेडिका ल्याबोरेटोरिज प्रा.लिद्धारा उत्पादित युझोलिन–१००० को बाहिरी खोल (औषधीको बट्टाको कभर) एउटा र भित्र औषधी अर्कै हालेर बजारमा खुलेखुलाम बिक्री भइरहेको हो । उक्त औषधीको बाहिरी कभरमा युझोलिन–१००० लेखिएको भेटिएको छ, तर भित्र खोल्दा युरोक्झीम–७५० का औषधीहरु पाइएको छ । मेडिकल सञ्चालकहरुले कम्पनीले मानिसको स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेको आरोप लगाउँदै यसको उत्पादन कम्पनी र बिक्रेता कम्पनीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।
सम्बन्धित समाचार
युमेडिकाको औषधीः मानव स्वास्थ्यमा गम्भीर खेलवाड, कभर एउटा भित्र औषधी अर्कै (भिडियोसहित)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।