काठमाडौं । भारतीय औषधी उत्पादनमूलक कम्पनी र त्यसको नेपालस्थित आधिकारिक बिक्रेता कम्पनीले औषधीको विषयलाई लिएर मानव स्वास्थ्य जस्तो अति महत्वपूर्ण विषयमा गम्भीर खेलवाड र लापरबाही गरेको रहस्य खुलेको छ ।
भारतीय प्रसिद्ध औषधी उत्पादनमूलक कम्पनी युमेडिका र त्यसको नेपालस्थित आधिकारिक बिक्रेता, फर्मा डाईनामिक प्रा.लि तथा फर्माकेयर ईन्टरनेशनल प्रा.लि बानेश्वरका सञ्चालक तथा औषधी व्यवसायी संघका केन्द्रीय सदस्य श्रीजन कुमार भट्टराईले मानिसको स्वास्थ्यमाथि नै खतरा उत्पन्न हुने विषयमा गम्भीर खेलवाड र लापरबाही गरेका हुन् ।

युमेडिका ल्याबोरेटोरिज प्रा.लिद्धारा उत्पादित युझोलिन–१००० को बाहिरी खोल (औषधीको बट्टाको कभर) एउटा र भित्र औषधी अर्कै हालेर बजारमा खुलेखुलाम बिक्री गरेका छन् । नेपालका अधिकांश औषधी पसलहरुमा पाइने उक्त औषधीको बाहिरी कभरमा युझोलिन–१००० लेखिएको भेटिएको छ, तर भित्र खोल्दा भने सेफुरोक्साइम–७५० लेखिएको औषधीहरु पाइएको छ । यो दुवै औषधी युमेडिकाले उत्पादन गरेका हुन् । तर अचम्मको कुरो बाहिरी कभर र भित्री औषधी फरक–फरक भएपनि ब्याच नम्बर, उत्पादन मिति लगायत एउटै राखिएको छ । औषधी पसलेहरुले कम्पनीले मानिसको स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेको आरोप लगाउँदै उत्पादन कम्पनी र बिक्रेता कम्पनीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।
काठमाडौंको एक फर्माले औषधीको लेभल एउटा र भित्र अकैं परेको भनेर कम्पनीलाई जानकारी दिँदा पनि नेपालीस्थित आधिकारिक बिक्रेताले खासै चासो नै नदेखाएर समेत मानिसको स्वास्थ्यमाथि हेलचेक्राई गर्ने काम भएको छ । । ‘मैले कम्पनी र औषधी व्यवस्था विभागलाई खबर गरिसकेको छु, कम्पनीको मान्छे आएर एक भाएल लिएर गए, अरु फिर्ता गर्नु, त्यति मात्र भनेर गएका छन्, डिडिएले २४ घण्टा भइसक्यो कुनै रेस्पोन्स गरेको छैन’ सोबिका फर्माका कृष्ण मगरले भने । फर्माले जानकारी गराउँदा समेत मानव स्वास्थ्य जस्तो विषयमा असर गर्ने औषधीको विषयमा गम्भीर रुपमा लिनुपर्नेमा उल्टै कम्पनीका मान्छेले औषधी फिर्ता गर्नु भन्दै हिड्नुले पनि कम्पनीबाटै मानव स्वास्थ्यमा गम्भीर लापरबाही र हेलचेक्राई गरेको पुष्टि भएको छ ।
यस्तो छ औषधी भित्रको रहस्य भिडियाे हेर्नुहाेस्
औषधी सम्बन्धी नियामक निकाय औषधी व्यवस्था विभागले समेत यस्तो गम्भीर विषयमा आवश्यक चासो र तत्परता नदेखाएको पाइएको छ । फर्माहरुले कभर एउटा र भित्रै अर्कै भएको औषधी भेटिएको जानकारी गराउँदा समेत विभागले चासो नदेखाएको पाइएको हो । औषधी व्यवसायीहरुले विभागको समेत मिलेमतोको संज्ञा दिएका छन् ।
नेपाली औषधी बजारमा मानव स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड हुँदै आएकोमा युमेडिका कम्पनीको युझोलिन–१००० को नाममा फेरि पनि मानव स्वास्थ्यमाथि खेलवाड गरिएको पाइएको हो । कोभिड–१९ को बहानमा यसअघि रेमडिसिभिर इन्जेक्शनमा भएको कालो बजारी, गुणस्तरहिन स्यानिटाइजर, अक्सिमिटरको कालाबजारी सेलाउन नपाउँदै औषधी व्यवसायी संघका केन्द्रीय सदस्य भट्टराई नै नेपालको आधिकारिक बिक्रेता रहेको कम्पनीमार्फत मानव स्वास्थ्यमाथि खेलवाड गरिएको हो । स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा भरत भटटराईले जिम्मेवारी सम्हालेसँगै यस्ता घटन दोहोरिदैं गएको गुनासो समेत बढेर गएको छ ।
युमेडिका कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता, फर्मा डाईनामिक प्रा.लि तथा फर्माकेयर ईन्टरनेशनल प्रा.लि बानेश्वरका सञ्चालक तथा औषधी व्यवसायी संघका केन्द्रीय सदस्य भट्टराई हेलाेखबरसँग गम्भीर गल्ती भएको स्वीकार गरेका छन् । ‘बाहिर एउटा नाम भित्र अर्कै हुनु त गम्भीर लापरबाही नै हो, तर यो कसरी भयो म आफैं अचम्ममा परेको छु’ उनले फोनमा भने, ‘मैले कम्पनीलाई लेखेर पठाईसकेको छु ।’ उनले अन्यत्र यस्तो नदेखिएको भन्दै एउटा मात्र फर्मामा कसरी यस्तो देखियो भनेर आफ्नो बचाउ गर्ने प्रयास समेत गरेका छन् । घटनाको २४ घण्टा बढी समय बित्दासम्म खासै चासो नदेखाएका भट्टराईले मिडियासम्म यो सूचना पुगेपछि भने देशैभर यो ब्याचको औषधी रिकल गरेर नष्ट गर्ने बताएका छन् ।

कडा खालको भाइरल, नाक कान, घाटीको सर्जरी लगायतका इन्फेक्शन रोक्ने कार्यमा यो इन्जेक्शन प्रयोग हुने गर्दछ । एउटा इक्जेक्शनको नाममा अर्को चलाउँदा काम नै नगर्ने तथा अन्य असर समेत परेर मानिसको स्वास्थ्यमाथि नै खतरा समेत हुन सक्ने चिकित्सकहरु बताउाछन् ।







