एनसेलले यसरी लुट्यो आफ्नै ग्राहकको १ अर्ब ११ करोड (प्रमाणसहित)

काठमाडौं । एनसेलले आफ्ना नेपाली ग्राहकहरुलाई थाहा नै नहुने गरी ग्राहकको मोबाइलबाट एक अर्ब ११ करोड रुपैयाँ ठगी गरेको रहस्य खुलेको छ ।
एनसेलले आफ्ना प्रयोगकर्तामाथि २०७५ असोज १५ गतेदेखि ७७ जेठ १८ सम्म ग्राहकसँग स्वीकृत नै नलिई स्वत: नविकरणको नाममा ‘गेमलफ्ट र ‘हुवावे एप ग्यालरी’ नामक भ्यास सेवाबाट ग्राहकमाथि अर्बौं असुली गर्दै आएको पाइएको हो ।

नेपालमा कर छलि गरेर पटक–पटक विवादित बनेको एनसेलले ग्राहकमाथि विभिन्न बहानामा ठगि गर्दै आएको आरोप लाग्दै आएकोमा पछिल्लो पटक एक अर्ब ११ करोड रुपैयाँ ठगी गरेको पुष्टि हुन आएको हो । नेपाल दुरसञ्चार प्राधिकरणले ग्राहकको मोबाइलबाट रकम ठग्ने एनसेललाई कारबाही गर्दै तीन महिनाभित्र पैसा फिर्ता गर्न निर्देशन दिएको छ । ग्राहकबाट रकम ठगि गरेबापत ५० हजार जरिवाना समेत गरेको छ ।

प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई प्रयोगकर्ताको अनुमति बिना सेवा दिएर एक अर्ब ११ करोड रुपैयाँ ठगि गरेको ठहर गरेको उल्लेख छ । गत साउन ३२ गते बसेको बोर्ड बैठकले एनसेललाई १ अर्ब ११ करोड रुपैयाँ तीन महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको हो । ग्राहकको आफ्नै मोबाइलमा रकम फिर्ता गरेर प्राधिकरणलाई जानकारी दिन समेत प्राधिकरणले निर्देशन दिएको छ ।


एनसेलले करबाहेक एक अर्ब ११ करोड ३७ लाख रुपैयाँ प्रयोगकर्ताहरुबाट ठगी गरेको छ । गत वर्ष भदौ १९ गते नै कारबाही किन नगर्ने भन्दै प्राधिकरणले पत्राचार गरेकोमा असार १७ गते पुन एनसेलसँग स्पष्टिकरण माग भएको प्राधिकरणले जनाएको छ । एनसेलले जवाफदेहिता देखाउनुको सट्टा तेस्रो पक्षलाई देखाएर आफू पञ्छिन खोजेको थियो । ‘अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणको स्वीकृति नलिई त्यस्ता सेवा सञ्चालन गरेको र प्राधिकरणको निर्देशन विपरीत सेवा सञ्चालन र अटो रिन्यु गरिरहेकाले एनसेल आजियाटालाई कारबाही गर्ने निर्णय गरिएको हो,’ प्राधिकरणको ठहरमा भनिएको छ ।

दूरसञ्चार प्राधिकरणले एनसेललाई १५ दिन भित्र गेमलफ्ट र हुवावे एप ग्यालरी नामको सेवाको अटो रिन्यु प्याकको २०७७ जेठ १८ देखि हालसम्मको विवरण १५ दिन भित्र विवरण बुझाउन प्राधिकरणको निर्देशन दिएको छ । त्यस्तै गेमलफ्ट र हुवावे एप ग्यालरी नामको एप ७ दिन भित्र विद्युतिय माध्यमबाट बस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्याविधि २०७६ को दफा ५ को ४ (क) बमोजिम हुनेगरि सञ्चालन गर्न निर्देशन दिएको छ । अन्यथा यो सेवा ७ दिन भित्र बन्द गरि प्राधिकरणलाई जानकारी दिन निर्देशन छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।