माधव नेपाललाई धोका दिएका आचार्य पनि आज मुख्यमन्त्री बन्दै

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवादमा माधव नेपाल समूहतिर लागेर अन्तिममा मुख्यमन्त्री पद पाउने भएपछि केपी ओली समूहमा प्रवेश गरेका भिम आचार्यलाई आज मुख्यमन्त्री बनाउन लागिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आचार्यलाई मुख्यमन्त्री बनाउनकै लागि आज राजीनामा दिन लागेका छन् । राजीनामा दिनका लागि काठमाडौंमा रहेका राई विराटनगर जान लागेका छन् । विगतमा नेपाल–झलनाथ खनाल समूहमा रहेका आचार्य नेकपा एमालेको मुलधारमा रहे पछि बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई प्रदेश मुख्यमन्त्री बनाएको शैलीमा आचार्यलाई पनि मुख्यमन्त्री बनाउन लागिएको हो । मुख्यमन्त्री पद हस्तान्तरण गरेसँगै प्रदेश १ मा एमाले विभाजनको सम्भावना टर्ने एमाले नेताहरुले जनाएका छन ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेसँग ५१ सांसद रहेका थिए । सभामुखसमेत एमालेकै रहेको र एक सांसद अदालतले दोषी ठहर गरेपछि फरार छन् । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

एकीकृत समाजवादीमा एमालेको केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्रकुमार राई र राजन राईले निर्वाचन आयोगमा सनाखतमै हस्ताक्षर गरिसकेका छन् । प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको उनीहरूको दाबी छ । अहिले त्यो संख्या घटिसकेको एमाले स्रोतको दाबी छ । यसअघि नेपाल समूहमा रहेका आचार्यले एक पटक सहयोग गर्न भन्दै सांसदलाई फोन गरिसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।