काठमाडौं १७ साउन

चिनियाँ जनमुक्ति सेना स्थापनाको ९०औँ वार्षिकोत्सवका अवसरमा स्वागत समारोह आयोजना गरिएको छ । 
काठमाडौंस्थित चिनियाँ दूतावासका सैनिक सहचारी वरिष्ठ महासेनानी लिउ स्याओ क्वाङले आयोजना गरेको उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाल–चीनबीचको सैनिक सहयोग सम्बन्ध पछिल्ला दिनमा थप सुदृढ हुँदै गएको बताए । हालै दुवै मुलुकका सेनाले गरेको सगरमाथा संयुक्त अभ्यासले सम्बन्धलाई थप प्रगाढ तुल्याएको बताउँदै उनले चिनियाँ रक्षामन्त्रीबाट केही महिनाअघि भएको नेपाल भ्रमणले दुवै देशका सैनिकबीचको सहकार्य र पारस्परिक विश्वासलाई प्रवद्र्धन गरेको उल्लेख गरे ।
नेपालका लागि चीनका राजदूत यु होङले राष्ट्रिय प्रतिरक्षा चिनियाँ सेनाको मूल लक्ष्य रहेको बताउँदै संयुक्त राष्ट्रसंघीय शान्ति सेनामार्फत विश्वशान्ति प्रवद्र्धनमा चिनियाँ सेनाले अग्रपंक्तिमा रहेर काम गरिरहेको जानकारी दिए । 
वरिष्ठ महासेनानी लिउले सि चिनफिङको सबल नेतृत्वमा चिनियाँ सेनाले शान्ति र समृद्धिको चाहनालाई मुखरित गरिरहेको उनको भनाई छ ।
 समारोहमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वरक्षामन्त्री, पूर्वप्रधानसेनापति, नेपाली सेनाका उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।