माधव नेपालले एमसीसी टोलीलाई भने, ‘राष्ट्र हितविरुद्धको पैसा हामीलाई चाहिँदैन’

काठमाडाैं २४ भदाै । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने बताएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार अपरान्ह भएको भेटका क्रममा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनबारे नेपालमा अनेक प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वीकार्न नसकिने बताएका हुन्। एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भएको छलफलका क्रममा अध्यक्ष नेपालले देशबासीबीच उब्जिएका थुप्रै प्रश्नको जवाफ खोजेका थिए।

छलफलमा सहभागी समाजवादीका नेता डा. गंगालाल तुलाधरले बताए अनुसार नेता नेपालसँगको भेटमा एमसीसी टोलीले नेपालमा देखिएको अन्योलबारे आफूहरु स्पष्ट पार्न आएको उल्लेख गरेका थिए। ‘हामी नेपालमा एमसीसीबारे देखिएको भ्रमबारे स्पष्ट पार्न आवश्यक भएकाले आएका हौँ’, एमसीसी उपाध्यक्ष सुमारको भनाइ उद्धृत गर्दै तुलाधरले भने, ‘एमसीसी विशुद्ध अनुदान हो, यसलाई कुनै अफ्ठ्यारो नमानी तपाईंहरुले स्वीकार्दा हुन्छ।’

त्यसपछि अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकी अधिकारीहरुले नै नेपालमा कन्फ्युजन सिर्जन गरेको पनि बताएका छन्। ‘तपाईंहरु आफ्नै मान्छेले, मन्त्रीहरुले एमसीसी परियोजना इन्डो प्यासिफिक सैन्य रणनीतिको अंश हो भनिरहेका छन्’, नेता नेपालले अगाडि भने, ‘तपाईंहरु आफैंले यसमा कन्फ्युजन सिर्जना गर्नुभयो। त्यसकारणले यो अनुदान हामी लिन चाहँदैनौँ। राष्ट्र हितविरुद्ध आउने कुनै पनि अनुदान सहयोग, पैसा हामी लिँदैनौँ । हाम्रो सार्वभौमसत्ता पैसा र अनुदानले प्रभावमा पार्न सक्नु हुन्न।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।