नेपालमा सेतो पुतलीका कारण लाग्ने शापु रोगको जोखिम रहेको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार विशेषगरी पोखरा आसपासका क्षेत्र ,म्याग्दी, बागलुङ, स्याङजा, तनहुँ क्षेत्रमा बढी देखिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.कृष्ण पौडेलले जानकारी दिनुभयो ।

शापु सार्न सक्ने पुतली लुम्बिनी प्रदेशको प्यूठान जिल्लामा देखिएको भन्दै जिल्ला स्वास्थ्य कार्यलय प्यूठानले सतर्कता अपनाउन आग्रह गर्दै सूचनासमेत जारी गरेको छ ।

शापु एक दृष्टि नाशक आँखाको रोग हो । यो रोग सुरुमा नेपालमा ४२ वर्ष अगाडि देखिएको हो । २०३२ सालमा पाेखराका बालबालिकामा देखिएको थियो । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका सहप्राध्यापक एवं आँखा रोग विशेषज्ञ डा.सञ्जिव भट्टराईका अनुसार अहिलेसम्मको तथ्यांक हेर्दा यो रोग प्रत्येक २ वर्षमा एकपटक देखिने गरेको छ । सेतो धर्के पुतलीहरुसँग बालबालिकाहरु खेल्ने, रमाउने, मार्ने भएकाले पुतलीको रौं, पखेटाहरु आँखामा परेर बढीजसाे बालबालिकामा संक्रमण भएको पाइएको उहाँले बताउनुभयाे ।

बच्चाहरु बत्तीहरुको नजीक जाने र शापु सेतो बत्तीमा घुम्ने भएकाले पनि बालबालिका शापु रोगको बढी जोखिममा रहेकाे उहाँकाे ठम्याइ छ । ‘अहिलेसम्म यो रोगको हिस्ट्री हेर्दा सेतो पुतली सँगको संसर्गमा आएका ठूला व्यक्तिलाई पनि लागेकाे र बिरामीलाई अन्धो नै बनाएकाे छ, ’ उहाँले सुनाउनुभयाे ।

शापु एउटा आँखामा मात्रै देखिने र आँखाक अन्य रोगभन्दा फरक रहेको उहाँ बताउनुहुन्छ । जस्तो आँखा पाक्दा दुवै आँखा रातो हुन्छ, चिप्रा लाग्छ तर दृष्टि कम हुँदैन । शापु हुँदा अकस्मात आँखा रातो हुन्छ तर चिप्रा लाग्दैन ।

शापु एकदमै तीव्र गतिमा फैलने भएकाले केही घण्टामै आँखाको भित्री भागसम्म फै‌लदा बालबालिकाको आँखा नै अन्धो बनाउने भन्दै उहाँले लक्षण देखिएकाे केही घण्टामै उपचार हुनपर्ने बताउनुभयाे ।

आँखाभित्र पानीले बनेको एक तह हुन्छ, शापु हुँदा संक्रमण त्यो तहसम्म पुगेर आँखाको नानी, लेन्स हुँदै पानी भएको भाग भिट्रियससम्म संक्रमण गराउँछ र आँखामा फुलो परेको जस्तै बाहिरबाटै टल्कने देखिन्छ । आँखाको नानी सेतो देखिन्छ ।

वर्षायामपछि भदौदेखि मंसिर महिनासम्म विशेषगरी नेपालको मध्यपहाडी भेगमा शापु महामारीको रुपमा देखापर्ने गरेको छ । यो रोगका लक्षणहरु देखा परेको २४ देखि ४८ घण्टा भित्रै उपचार नगरे आँखाको दृष्टि गुम्न सक्ने तथ्यांकले पुष्टि गरेको छ ।

शापु सेतो पुतली (मथ)का कारण लाग्ने गरेको पाइएपनि कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुमा पनि यो रोग देखा परेको छ । सुक्ष्म जिवाणु एवंम् विषाणुका कारण पनि यो रोग लाग्ने गरेको पाइन्छ । यद्यपी यो रोगको कारक अझै यकिन भएको छैन।

लक्षण तथा चिह्नहरु :
– एक्कासी एउटा आँखा रातो हुनु
– चिप्रा नलाग्नु
– उज्यालोमा हेर्न नसक्नु
– आँखाको दुखाइ सामान्य वा बढी हुनु
– उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिनु

निदान तथा उपचार
कहिलेकाँही शापु जस्तै लक्षण भई उपचार गर्न आउँदा सुरुमा आँखाको कल्चर गर्नुपर्छ । ल्याब टेस्ट गर्दा कुनै पनि जीवाणु, किटाणु नरहेको देखिए त्यो शापु हो भन्ने बुझ्नुपर्छ ।

यो रोगको निदान तथा उपचार आँखा विभाग अस्पतालहरुमा मात्र गर्ने गरिन्छ । शापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुइ लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया गरेर समेत गर्न सकिन्छ । समयमा नै उपचार भएमात्रै आँखा निको हुन्छ तथा ढिला भए बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ ।

रोकथाम
– सेतो पुतलीको संसर्गबाट टाढै रहने
– धेरै उज्यालो, सेतो बत्ति नबाल्ने
– साँझ र राति झ्याल ढोका बन्द गर्ने
– सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
– सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती हालेर झुलभित्रै मात्र सुत्ने
– आफूखुुसी आँखामा कुनै पनि औषधि तथा जडिबुटी नराख्ने
– आँखा विशेषज्ञको सल्लाह बमोजिम उपचार गर्ने -हेल्थपाटीबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।