विदेश पठाइदिने भन्दै ३४ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ३४ लाख ८९ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अष्ट्रेलिया, क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाउनेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमलप्रसाद गौतम, अछामका गणेशबहादुर बुढा र रामेछापका बद्रिकुमार तामाङ छन् ।

प्रहरीका अनुसार तामाङले बेलायत पठाइदिने भन्दै रु नौ लाख, गौतमले रोमानिया पठाइदिने भन्दै रु एक लाख, बुढाले अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै रु तीन लाख तथा बद्रिकुमारले पोल्याण्ड पठाइदिने भन्दै रु २१ लाख ८९ हजार ठगी गरेको उजुरी प्राप्त भएको छ ।

प्रहरीले चारै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।