- वाइसियलमा नेतृत्वको चर्चा चुलिदैं, सम्मेलनपछि चुप नबस्ने
काठमाडौं १७ साउन
सत्तारुढ नेकपा माओवादी केन्द्रको सहायक युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसियल) को राष्ट्रिय सम्मेलन नजिकिदैं जाँदा नेतृत्वको चर्चा चुलिन थालेको छ ।
निष्क्रिय जस्तै रहेको वाइसियललाई सशक्त र सक्रिय बनाउने पार्टी सचिवालय बैठकको निर्णय अनुसार पार्टीले समेत वाइसियलको सम्मेलनलाई महत्व दिएको पाइएको छ ।
सशस्त्र संघर्षपछि हतियार बिसाएर शान्ति प्रक्रियामा आएसँगै तत्कालिन नेकपा माओवादी केन्द्रले वाइसिएल गठन गरेको थियो । सुरुमा चर्चा र विवादमा आएपनि त्यसपछि भने कम गतिविधिका कारण निस्क्रिय जस्तै बन्दै आएको वाइसियललाई पुनः सक्रिय र सशक्त बनाउने तयारीका साथ आगामी २ र ३ भदौमा काठमाडौंमा वाइसियलको एकताको राष्ट्रिय महाधिवेशन हुँदैछ ।
वाईसियल केन्द्रीय आयोजक समिति संयोजक निब बहादुर कुँवरले झण्डै ६ सय प्रतिनिधि पर्यवेक्षक सम्मेलनमा सहभागी हुने र सम्मेलनले नयाँ नेतृत्व र नीति तथा कार्यक्रम समेत तय गर्ने जानकारी दिए ।
माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणी थापाले अब वाइसियलले सक्रिय भएर भूमिका निभाउने बताए । ‘अब वाईसियल चुप लागेर बस्दैन, राज्यलाई सहयोगी भूमिका खेल्छ, भ्रष्टचारी, तस्करी तथा अनियमितताविरुद्ध यसले अभियान चलाउँछ ।’
संयोजक कुँवर पनि वाइसियल अब कामकाजी मात्रै नहुने भन्दै भ्रष्टचार, तस्करी, गुण्डागर्दीका विरुद्ध वाइसियल सशक्त रुपमा प्रस्तुत हुने बताए ।
वाईसियल संगठन विभाग प्रमुख रामप्रसाद सापकोटाले वाइसियल हिजो जस्तो पनि नहुने र आजको जस्तो अवस्थामा नरहने बताउँछन् । ‘अब वाइसियल पुनसंगठित हुन्छ, अहिले सम्पूर्ण रुपमा राजनीतिक क्रियाकलाप मात्र गरेको छ, तर अब भ्रष्टचार, विकृति विसंगती विरुद्ध लड्छ ।’ सापकोटाका अनुसार वाइसियलले आफैं भने एक्सनको काम गर्ने छैन । वाईसियलले सरकार तथा सुरक्षाकर्मीलाई सहयोगीको रुपमा भूमिका निर्वाह गर्ने, प्रहरीलाई सुचना उपलब्ध गराउने तथा त्यस्ता क्रियाकलाप गर्नेहरुको एक्सोप गर्नेछ ।
वाइसियलले पार्टी बाहिरका विसंगतीका विरुद्ध मात्रै नभएर पार्टीभित्रकै अनियमितता, भ्रष्टचार तथा विसंगतिको समेत भण्डाफोर गर्न पछि नहट्ने सापकोटा बताउँछन् ।
पार्टी केन्द्रलाई सबक
वाईसियलले आफ्नो माउ पार्टी नेकपा माओवादी केन्द्रको भद्रगोल संगठनलाई सबक सिकाउने तयारी गरेको छ । राष्ट्रिय सम्मेलनमार्फत १ सय ५१ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय पदाधिकारी चयन गरेर केन्द्र तथा पार्टीको अन्य सहायक तथा भातृ संगठनलाई सुस्त दुरुस्त संगठन गर्न सकब सिकाइने वाइसियलका नेताहरु बताउँछन् । ‘हाम्रो संगठन केन्द्रको जस्तो ४ हजार सदस्यीय जस्तै भद्रगोल हुनेछैन, आयोजक समिति संयोजक कुँवर भन्छन्, चुस्त छरितो र चलायमान हुनेछ, यसले केन्द्रले पनि पाठ सिकाउनेछ ।
यस्तो छ वाईसियलको सम्भावित नेतृत्व
वाइसियलले नेतृत्व चयनमा छुट्टै विधि तय गरेको छ । जसअन्तर्गत ४० वर्षमाथिकालाई उमेर हदबन्दी लाग्नेछ भएको छ । पार्टीमा अन्य कुनै जिम्मेवारीमा कार्यकारी भूमिका निभाएकाले पनि वाईसियलमा कार्यकारी पदमा उम्मेदवारी दिन पाउने छैनन् ।
उमेर हदका कारण आयोजक समिति संयोजक कुँवरले सम्मेलनबाट नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदैं बिदा हुनेछन् ।
वाइसियलको नेतृत्वमा अहिले तीन जनाले आकांक्षा देखाएका छन् । जसमा संगठन विभाग प्रमुख तथा पूर्वमहासचिव रामप्रसाद सापकोटा, पूर्व बरिष्ठ उपाध्यक्ष लक्ष्मी चौलागाई र पूर्व उपाध्यक्ष युवराज दुलाल आकांक्षी देखिएका छन् । तर, अहिलेसम्म कसैले पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । तीन मध्ये सापकोटा सहमतिको आधारमा अध्यक्ष हुने सम्भावना धेरै छ ।
वाइसियलको महासचिव पदमा भने प्रतिस्पर्धाको सम्भावना बढी छ । पूर्वसचिव नरेन्द्र पाण्डे, निर्मल जिसी, पूर्व कोषाध्यक्ष शुबोधराज शेर्पाली, सुमन देवाकोट, नेकपा क्रान्तिकारी माओवादीबाट एकता प्रक्रियाबाट आएका दिपक देवकोटाले महासचिव पदका लागि आकांक्षा देखाएका छन् । वाईसियलले निर्वाचन कार्यविधिमा प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था गरेपनि प्यानल बनाएर प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने वा सहमतिबाट भन्ने विषय भने टुंगिएको छैन । आयोजक समिति संयोजक कुँवरले सहमतिमै टुंग्याउने कि प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने भन्ने विषय नटुंगिएको बताए ।