Monday, September 21, 2026
26.1 C
Kathmandu
Home मुख्य समाचार केपी ओली जत्तिको वुद्धि नभएको नेता कोही छैन : प्रचण्ड

केपी ओली जत्तिको वुद्धि नभएको नेता कोही छैन : प्रचण्ड

काभ्रे ७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जति वुद्धि नभएको नेता कोही नभएको आरोप लगाएका छन्।

काभ्रेको पाँचखालमा वाइसिएलको दोस्रो नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले एकताको बेलामा भएको समझ्दारी पालना नगर्दा ओलीले नेपालको इतिहासमा महान नेता हुने अवसर गुमाएको बताएका हुन्। ‘केपी हरुवा हुन्, भगौडा पनि भन्न सकिन्छ, ओलीले कम्युनिष्ट आन्दोलन छाडेर भागेका छन्’ उनले भने, ‘केपी ओलीले विदेशीसँग मिलेर कम्युनिष्ट पार्टी विघटन गर्न खोजे।’ प्रचण्डले ओली सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाउँदै माक्सवादीसमेत नभएको जिकिर गरे।

उनले ओली प्रवृत्तिबारे आफूले तत्कालिन नेकपामा हुँदा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन समेत पेस गरेको स्मरण गरे। ‘ओली प्रवृत्ति, विचारको हिसाबले कम्युनिस्ट र मास्कवादी दुवै होइन, ओली केवल सामन्ती हिन्दु अतिवादी हो,’ उनले भने, ‘ओलीले पशुपतिनाथमा जलहरी चढाएको त सुन्नुभयो होला। अनि मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ, कम्युनिष्टले यस्तो काम गर्छ तर ?’

त्यस्तै अध्यक्ष प्रचण्डले सबै माओवादी लगायतका घटकसँग एउटै कम्युनिस्ट केन्द्र बनाउनेगरी छलफल भइरहेको पनि बताए। उनले भने, ‘क्रान्तिकारी माओवादीका महासचिव मोहन वैध, नेकपाका महासचिव नेत्रविक्रम चन्द, जनता समाजवादीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई लगायतसँग छलफल भइरहेको छ।’ कार्यक्रममा अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।