काठमाडौं ११ असोज । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेपछि दुई घण्टा तनाबको अवस्था झेल्नु परेको छ ।
आज बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किनु परेको हो । झन्डै दुई घण्टापछि भने काठमाडौंमै सुरक्षित अवतरण भएको छ । उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए ।
बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २१ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको विमानस्थलले जनाएको छ । यो जहाजलाई काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरिएको थियो ।





