काठमाडौं १४ कात्तिक । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । नेपाल बारको कार्यालय परिसरमा कानुन व्यवसायीले प्रदर्शन सुरु गरेपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ ।
कर्मचारीहरुलाई पनि गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । सुरक्षाकर्मीहरुको गाडी सर्वोच्च भित्र र बाहिर तम्तयार अवस्थामा राखिएको छ । कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत कानुन व्यवसायीहरु अहिले प्रदर्शनमा उत्रिएका छन् ।
न्यायाधीश तथा कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई चार दिने अल्टिमेटम दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने राजीनामा नदिने अड्डीमा छन् । यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ ।
प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।