मोरङ — प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । एमाले अल्पमतमा परेपछि उनले सोमबार प्रदेशसभाको बैठकबाट राजीनामा दिने घोषणा गरेका हुन् । विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।
सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले दलहरू मिलेर जानुको विकल्प नरहेको बताए । राजनीतिमा कामले अगाडि जानुपर्ने र दलहरू फुटाउनु/टुटाउनतर्फ लाग्ने काम अराजनीतक हुने उनको भनाइ थियो । लोकतन्त्र र संविधान निर्माणका लागि लडेर आएका शक्ति जुटेर अघि बढ्नुपर्ने पनि उनले बताए । ‘संविधानमाथि, लोकतन्त्रमाथि खतरा आयो भने हामी मिलेर जानुको विकल्प छैन,’ उनले भने ।
यसअघि वाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन् । आचार्य ६८ दिन मात्र मुख्यमन्त्री बने ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।