काठमाडौँ — वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले सम्मानजनक बहिर्गमनको कुरा उठाएर प्रधानन्यायाधीश जबराले कार्यकाल लम्ब्याउन खोजेको समेत आरोप लगाए ।
प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालय शुद्धीकरणको माग राख्दै आइतबारदेखि नेपाल बार र सर्वोच्च बार एसोसियसनले आन्दोलन सुरु गरेको छ । श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशज्यूले सम्मानजनक बहिगर्मन चाहने हो भने तुरुन्तै राजीनामा दिनुपर्छ । सुधारका कुरा गर्न तयार भएको भए पहिले नै गर्नुहुन्थ्यो नि ।’
त्यस्तै नेपाल बार एसोसियसनका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीशहरू र प्रधानन्यायाधीशबीच वार्ताको ढोका खुल्नु सकारात्मक भए पनि राजीनामाको विकल्प नभएको बताएका छन् । सर्वोच्च अदालतले नै प्रधानन्यायाधीश जबराको सम्मानजनक बिदाइ गर्नुपर्ने पनि उनको भनाइ थियो । उनले भने, ‘प्रधानन्यायाधीशको बहिर्गमन सम्मानजनक हुनुपर्छ । हामीले त्यसमा केही भन्दैनौँ । बारले बिदाइको कार्यक्रम गर्दैन ।’
न्यायाधीश हरिकृष्णको कार्कीको प्रतिवेदनअनुसार प्रधानन्यायाधीश जबराले न्यायालयलाई शुद्धीकरण गर्नेतर्फ केही पनि काम नगरेको वरिष्ठ अधिवक्ता थापाको भनाइ छ । ‘न्यायपालिकालाई कोमामा नपुर्याउनुहोस् । हरिकृष्ण कार्कीको प्रतिवेदन आएको महिनौ भइसक्यो यसलाई लागू गर्ने कुुरामा उहाँले ध्यान दिनु भएको छैन ।
प्रधानन्यायाधीशको बिदाइ सर्वोच्च अदालतले राम्रोसँग गरोस्,’ उनले भने । त्यस्तै प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्दामा पेसी तोकेकोमा आफूहरुलाई कुनै पनि आपत्ति नभएको उनले बताए । प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि थापाले बताए ।







