काठमाडौं २३ कात्तिक । नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११-१३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो। त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूको सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

बैठकले पाँचदलीय गठबन्धन समन्वय समितिमा पार्टीका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको जानकारी पनि प्रवक्ता महराले दिए। बैठकमा एमसिसीबारे राष्ट्रिय सहमति कायम नभई र संशोधन तथा परिमार्जन नभई अगाडी नबढाउने निर्णय भएकाे पनि उनले बताए।

माओवादी केन्द्र न्यायालय भित्रको विवाद न्यायालय आफैंले टुंग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाई छ। माओवादी केन्द्रका प्रवक्ता महराले पाँचदलीय गठबन्धन समन्वय समिति सरकारलाई सहयोग गर्न र संविधानलाई ट्र्याकमा डोहोर्‍याउनको निम्ति आवश्यक रहेको उल्लेख गरे। सो समितिले पाँचदलीय गठबन्धनलाई सुदृढ गर्ने उनले बताए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।