काठमाडौँ, १३ साउन । व्यवस्थापिका–संसद्का गतिविधिलाई सहज तवरले आम नागरिकमा पु¥याउने लक्ष्यका साथ संसद् सचिवालयले आजदेखि ‘व्यवस्थापिका–संसद् नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यस्तै www.parliament.gov.np नयाँ वेबसाइट पनि आजैदेखि सञ्चालनमा आएको छ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बिहीबार मोबाइल एप र वेबसाइटको शुभारम्भ गरिन् ।

मोबाइल एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । एप डाउनलोड गरेपछि संसारको जुनसुकै स्थानबाट पनि सांसदलाई प्रश्न गर्न सकिनेछ । यस्तै अन्य विषयमा पनि सूचना लिन र संसदीय गतिविधिका बारेमा जानकारी लिनसमेत एप प्रभावकारी हुने संसद् सचिवालयले विश्वास लिएको छ ।

संसद् सचिवालयले यसअघि संसद्को गतिविधिलाई यु ट्युबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य सुरु गरिसकेको छ ।

सभामुख घर्तीले संसद्का गतिविधिलाई कागजविहीन बनाउने लक्ष्यका साथ सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति लिएको बताइन् ।

संसद् सचिवालयले प्रत्येक सांसदलाई एक,एक वटा आइडी उपलब्ध गराउने र सोही आइडीमार्फत जनतासँग संवाद गर्नसक्ने व्यवस्था मिलाइएको सो अवसरमा जानकारी दिइयो ।

जननिर्वाचित संस्थालाई बढी भन्दाबढी पारदर्शी बनाउने, जनतासँग प्रत्यक्ष संवाद गराउने र सम्पर्कको माध्यमलाई क्रमशः विस्तार गर्दै लाने लक्ष्यका साथ अगाडि बढिरहेको सभामुख घर्तीले बताइन ।

उनले भनिन्–“सांसदलाई पनि प्रविधिमैत्री बनाउन र त्यसको अधिकतम् उपयोग गर्ने लक्ष्यका साथ नयाँ मोबाइल एप र वेबसाइट सञ्चालनमा ल्याइएको छ ।”

सभामुख घर्तीले जनताको माग र गुनासो सुन्न तथा सरकारलाई समस्या समाधानका लागि सचेत गराउनसमेत यस्तो संयन्त्र प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

नयाँ एप र वेबसाइटमा संसद्का गतिविधिका अतिरिक्त संसदीय समितिका गतिविधि र नयाँ विधेयक पनि सहजैरुपमा हेर्न पाइने व्यवस्था गरिएको छ ।

उनले नेपालको संविधानको व्यवस्थाअनुसार आगामी माघ ७ गतेभित्र प्रदेश र संघीय संसद्को निर्वाचन गर्नैपर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने धारणा राखिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।