काठमाडाैं ६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् । चितवनको टाँडीमा आज बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन् ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई प्रचण्डले ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ बताए । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउने षडयन्त्र भएपछि सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गराएको प्रचण्डले बताए । उनले जनताको बलमा नै प्रतिनिधिसभा पुनस्थार्पना भएको दाबी गरे ।