काठमाडौं २७ मंसिर । लामो समयदेखि कोरोना बीमा बापतको भुक्तानी एक लाख ३८ हजार २५१ जनाले पर्खिएर बसेका छन् । तर, अझै पनि उनीहरुले कहिले रकम पाउने भन्ने टुंगो छैन ।
अघिल्लै सरकारका अर्थमन्त्री विष्णु पौडेलले नै उक्त रकम रोकिदिएका थिए । त्यसपछि अर्थमन्त्री जनार्दन शर्मा नियुक्त भए । अर्थमन्त्री बनेको केही समयपछि उनले सरोकारवाला निकायलाई बोलाएर भुक्तानी दिने व्यवस्था गर्न निर्देशन दिए । तर, अर्थ मन्त्रालयले नै भुक्तानी नदिँदा पीडितले रकम पाउन सकेका छैनन् ।
बीमा गरेको रकम भुक्तानी गर्ने पहिलो दायित्व कम्पनीहरुको हुन्छ। उनीहरुले घाटा खाएर होस् या पुँजी क्षयीकरण गरेर होस् दाबी रकम भुक्तानी गर्नै पर्छ। तर सरकारले अनुदान नदिएका कारण भन्दै उनीहरु दाबी रकम भुक्तानी गर्न पन्छिदैं आएका छन् ।
सोमबार बीमा समितिको भवन शिलान्यास गर्दै अर्थभन्त्रीले कोरोना महामारीमा ‘कोरोना बीमा’ गरिएको तर भुक्तानी गर्न समस्या भइरहेको उल्लेख भने गरे । उनले कोरोना बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको जानकारी दिँदै समस्या समाधानका लागि पहल भइरहेको समेत बताए । बीमाको दाबी रकम १३ अर्ब १९ करोड ७८ लाख ५५ हजार २१३ रुपैयाँ छ। सरकारले अहिलेसम्म ४१ करोड ९५ लाख १४ हजार ७ सय रुपैयाँ मात्र उपलब्ध गराएको छ।