काठमाडौं १ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेकाे टिप्पणी गरेका छन् । पुर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेको बताएका हुन् ।
ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा यस्तो विवास्पद अभिव्यक्ति दिएपछि प्रचण्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेको समेत उल्लेख गरेका छन् ।
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति नभएको स्पष्ट पार्दै आरोप पुष्टि गर्न चुनौति समेत दिएका छन् । उनले राजासँग पाँच बुँदे सहमति भएको भन्ने शत प्रतिशत झुटो कुरा प्रचार भएको बताएका छन् । ओलीले २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गरेका थिए । प्रचण्डले ओलीलाई उक्त दाबी प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छन् ।







