चालु खाता २ खर्ब २३ अर्ब १९ करोड घाटा

काठमाडाैं २९ मंसिर । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा मुलुकको चालु खाता घाटा बढेर २ खर्ब २३ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चार महिना (साउनदेखि कार्तिकसम्म) को फाइनान्सियल रिपोर्ट अनुसार मुलुकको कुल चालु खाता घाटा २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ ।

यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा मुलुकको चालु खाता १९ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेकोमा चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई रु.२ अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको समेत बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको थियो । यस्तो स्थिति अघिल्लो वर्ष अमेरिकी डलरमा ९३ करोड १७ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको बैंकले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।