काठमाडौँ २ पुष । कांग्रेस महामन्त्री पदमा पराजित बनेपछि नैतिकताका आधारमा रक्षामन्त्री पदबाट राजीनामा दिएका मिरेन्द्र रिजाल कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई टाउको दुखाईको विषय बनेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत हालै सम्पन्न निर्वाचनमा पराजित भए । पिछडिएको क्षेत्रका लागि सहमामन्त्रीमा उम्मेदवारी दिएका शाही बद्री पाण्डेसँग पराजित भए । निर्वाचनमा पराजित हुनु सामान्य विषय भएपनि यसअघि मिरेन्द्र रिजालले हारकै कारण रक्षामन्त्रीबाट राजीनामा दिएपछि शाहीलाई पनि नैतिकता देखाउने दबाब थपिएको हो । कतिपयले उनमा पनि नैतिकता भए रिजालले जस्तै राजीनामा दिनुपर्ने विषय सामाजिक सञ्जालमा समेत उठाउन थालेपछि अहिले मुख्यमन्त्री शाही तनावमा परेका छन् ।

शाहीले राजीनामा दिने विषयमा अहिलेसम्म मुख खोलेका छैनन् । तर सामाजिक सञ्जालमा भने नैतिकताको विषयलाई लिएर उनको विषयमा चर्चा भइरहेको छ । पूर्वपर्यटन तथा संस्कृति उड्डयनमन्त्रीसमेत रहेका शाही पार्टीमा केन्द्रीय सदस्य थिए । शुक्रबार सार्वजनिक भएको मतपरिणाम अनुसार पाण्डेले २ हजार ४११ मत ल्याउँदा शाहीले २ हजार १३३ मत मात्र ल्याएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।