काठमाडौं २ पुष । नेकपा एमाले अध्यक्ष तथापूर्व प्रधानमन्त्री केपी शर्माका कारण नेपालमा रेल सञ्चालन हुँदा देशले दैनिक रुपमा नै ७ लाख भन्दा बढी घाटा बेहोर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
पानी जहाज, रेल, मेट्रो रेल, हावामा बिजुली जस्ता गफ दिएर बिना तयारी कतिपय योजना अघि बढाउँदा अहिले आएर रेलमा मात्र दैनिक ७ लाख बढी देशले घाटा बेहोर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
ओली प्रधानमन्त्री भएको बेला भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल सञ्चालन गर्न भन्दै भारतबाट करिब एक अर्ब खर्चिएर दुई वटा रेलका सेट नेपाल भित्र्याइएको थियो । कुनै पनि तयारी बिना रेल सेट भित्र्याउँदा अहिलेसम्म रेल सञ्चालन हुन सकेको छैन । बरु, उल्टै दिनदिनै रेल सञ्चालन नहुँदा देशले घाटा बेहोरिरहेको छ भने अब रेल सञ्चालन हुँदा समेत दैनिक ७ लाख बढी देशले घाटा बेहार्नुपर्ने बाध्यता थपिएको छ ।
नेपाली प्राविधिक तयार गरेर, भौतिक संरचनादेखि जनशक्ति लगायतको तयारी पूरा गरेर रेल ल्याएको अवस्थामा देशले घाटा बेहार्नुपर्ने अवस्था नभएपनि ओलीको निर्देशनमा हतारमा रेल ल्याउँदा देशले घाटा बेहोर्नु परिरहेको हो ।
रेल सञ्चालन नभए पनि अहिले नेपाल रेलवे कम्पनीमा ११ स्थायी र चार जना अस्थायी गरी १५ जना कर्मचारी छन् । तिनका लागि मासिक तलबमा मात्र साढे चार लाख रुपैयाँ खर्च भइरहेको पाइएको छ । ओली सरकारले रेल किन्दाको १० करोड रुपैयाँ कर अझै तिर्न बाँकी रहेको छ । प्रधानमन्त्री ओली सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको पालामा रेल खरिद सम्झौता भएको थियो । उनको पालामा रेल आएन । ओलीले पछि महासेठलाई मन्त्रीबाट हटाएर वसन्त नेम्वाङलाई मन्त्री बनाए । उनको पालामा रेल ल्याइयो भने भारतीय रेलवे कम्पनी कोंकणसँग एक वर्षका लागि रेल चलाउने र मर्मत गर्ने गरी २२ करोड भारु ९३५ करोड २० लाख रुपैयाँ० मा सम्झौता भयो । जस अन्तर्गत कोंकणलाई तिर्नुपर्ने रकम, कर्मचारी खर्चसहित एक दिनको रेल सञ्चालनको खर्च १० लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।
टिकट शुल्कबाट प्रतिदिन पौने तीन लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकाले नेपालले रेल सञ्चालन गर्दा दैनिक ७ लाख बढी घाटा बेहोर्नुपर्ने देखिएको हो ।