काठमाडाैं ३ पुष । नेकपा एमालेका नेता भीम रावलले आफूसँग छलफल नै नगरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको समाचारबाट थाहा पाएको भन्दै आपत्ति जनाएका छन् । शनिवार सामाजिक सञ्जालमार्फत रावलले यदि सो कुरा सत्य हो भने आफूलाई सोध्दै नसोधी कुनै पदको टिका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन् । उनले टिके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने बताएका छन् ।

रावलले भनेका छन्– ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

शुक्रबार काठमाडौँमा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय सुनाउने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा नेता रावल पार्टीको सल्लाहकार रहने बताएका थिए ।

नेता रावलले पार्टी अध्यक्षले मनोनीत गर्ने केन्द्रीय सदस्य पद समेत अस्वीकार गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।