महामन्त्री विश्वप्रकाश शर्मालाई पहिलो गाँसमै ढुंगा, माओवादीले निकाल्यो विरोधमा यस्तो विज्ञप्ति

काठमाडौं ४ पुष । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्व प्रकाश शर्मा सुरुवाती दिनमा नै विवादमा तानिएका छन् । सत्ता गठबन्धन मुख्य दल नेकपा माओवादी केन्द्रले शर्माको विषयमा विज्ञप्ति नै निकालेर विरोध जनाएको छ ।

नवनिर्वाचित शर्माले निर्वाचनमा जितेसँगै जनआन्दोलनका घाइते ज्युँदा शहिद भनेर चिनिने मुकेश कायस्थ र अर्का अपांगता भएका दिपेन्द्र गिरीलाई भेटेर माला लगाउँदै देश र जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

सोही क्रममा उनले दिपेन्द्र गिरीलाई माओवादी आक्रमणमा मेरुदण्ड भाँचिएर जीवन संघर्ष गरिरहेको युवा भनेपछि उनी विवादमा तानिएका हुन् ।
माओवादी केन्द्र काभ्रेपलाञ्चोकले विज्ञप्ति जारी गरेर काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा ६ निवासी दिपेन्द्र गिरीको बारेमा दश वर्षे महान जनयुद्धको सवालमा जनयुद्धको क्रममा माओवादी आक्रमणमा मेरुदण्ड भाँची जीवन संघर्ष गरिरहेका युवा भनि गरिएको कुप्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काभ्रे पार्टी अध्यक्ष रुकु चौलागाई (रचना) ले विज्ञप्ति जारी गर्दै जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेताबाट सस्तो लोकप्रियताको लागि गरिएको यस प्रकारको भ्रामक, कपोकल्पित र अतिरिञ्जत कुप्रचारको घोर भत्र्सना गर्दै घटनामा पार्टीको संलग्नता पुष्टि गर्न शर्मालाई चुनौती दिएकी छिन् ।

माओवादी केन्द्र काभ्रेपलाञ्चोकले गिरीले द्धन्द्धपीडितको नाममा राज्यद्धारा अनुचित लाभ लिएको गम्भीर आरोप समेत लगाएको छ । ‘नीज व्यक्ति आफ्नै पारिवारिक दुर्घटनामा परेको तर दश वर्षे जनयुद्धको नाम गरी द्धन्द्धपीडितको नाममा राज्यद्धारा अनुचित लाभ लिइरहेको कुरा जगजाहेर छ ।’ विज्ञप्तिमा भनिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।