काठमाडौं ३ माघ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नको लागि रकम अभाव भएको जनाएको छ । चालु आर्थिक वर्षको हालसम्मको ६ महिनाको अवधिमा १२ पटक भारतबाट नयाँ मूल्य प्राप्त गरेकोमा अधिकांश पटक मूल्य बढेर आएको तर ३ पटकबाट मूल्य समायोजन गरेकोले निगम घाटामा गई भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नको लागि रकम अभाव भएको निगमले जनाएको छ।
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप निगमको आपूर्तिकर्ता ईण्डियन आयल कर्पोरेशनबाट हिजो माघ २ मा प्राप्त नयाँ मूल्य बमोजिम निगमलाई १५ दिनमा करिब २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ । यस अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्मको ६ महिनाको अवधिमा निगमले अनुमानित रू. १९ अर्ब २६ करोड घाटा ब्यहोरी सकेको अवस्था छ ।
निगमले भनेको छ, यदि जनवरी १६, २०२२ मा प्राप्त नयाँ मूल्य अनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा निगमले थप रू. २ अर्ब २४ करोड घाटा ब्यहोरी यस आर्थिक वर्षको माघ १७, २०७८ सम्ममा रू. २१ अर्ब ५० करोड घाटा ब्यहोर्नु पर्ने अवस्था देखिन्छ ।
निगमले यसको व्यवस्थापनको लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको जनाएको छ । आउँदा दिनहरूमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्ब रूपैंया भन्दा बढी नै मासिक घाटा रही रहने देखिएको हुँदा आगामी ३ महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न हालको खरिद मूल्य अनुसार निगमलाई न्यूनतम करिब १२ अर्व रूपैंयाको आवश्यकता पर्ने देखिएको निगमले जनाएको छ ।