काठमाडौँ ४ माघ । सत्ता गठबन्धन दलहरुले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति गरेका छन् । वैशाखमा निर्वाचन गर्ने सहमति गरेका दलहरुले आगामी बैठकमा मिति तय गर्ने जनाएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
तोकिएकै समयमा स्थानीय निर्वाचनका लागि दलहरू सहमत भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए ।





