काठमाडौं । नेपालमा गुणस्तरहिन लाइभ सेभिङ्ग ड्रग्सको कारोबार भइरहेको खुलासा भएको छ । आईसियूका बिरामीमा प्रयोग हुने यस्ता औषधी गुणस्तरहिन आयातका कारण जीवन मरणको लडाई लडिरहेका आईसियूका बिरामीको जिवन झन् खतरामा पर्ने देखिएको छ ।
एक विश्वसनिय स्रोतले विगत लामो समयदेखि नियमक निकायलाई प्रभाव पारेर ग्लोबल ट्रेड एग्जिम प्रा.लि., ब्राइट फर्चुन प्रा.लि., आर.एस.पी. ट्रेडिङ्ग प्रा.लि.,राजेश मेडिट्रेड प्रा.लि. तथा विमक्रिस इन्टरनेशनल प्रा.लि. लगायतका कम्पनीमार्फत औषधि आयातको काम गर्दै आइरहेका वीरगञ्ज बस्ने औषधी आयातकर्ता सचिन खण्डेवालले गुणस्तरहिन औषधीको कारोबार गरेको जनाएकाे छ ।
खण्डेवालले नेपालमा औषधि आयात गर्ने क्रममा भेनस रेम्डिज लिमिटेड नामक भारतीय औषधी कम्पनीको तर्फबाट उत्पादन भएका आइ.सि.यु का बिरामीलाई प्रयोग गरिने विभिन्न औषधी गुणस्तरहिन भएको भन्दै औषधी व्यवस्था विभागले उक्त औषधी नेपालमा बिक्रि वितरणमा रोक लगाएर कारबाही गरेको समेत खुल्न आएको छ ।
विभागीय स्रोतका अनुसार यसअघि विभागको जिम्मेवारीमा रहेका नारायण ढकाल नेतृत्वको विभागीय टिमले जिएमपी मापदण्ड समेत पूरा नगरी उक्त कम्पनीले उत्पादन गरेका औषधी उत्पादन भएको पाइएको जनाउँदै भेनस रेम्डिज लिमिटेड नामक भारतीय औषधी कम्पनीको नेपालका आधिकारिक आयातकर्ता रहेका खण्डेवाल नेतृत्वको पार्थ फर्मा नामक कम्पनीलाई कारबाही गर्दै औषधिको विक्री वितरणमा रोक लगाएको पाइएकाे छ ।
विभागको महानिर्देशकबाट ढकालको बर्हिगमन र उनको स्थानमा विवादित छविका भरत भट्टराइको आगमन भएसंगै ठूलै धनराशीको चलखेलको आधारमा खण्डेवालमाथिकाे कारबाही हटाउने तयारी भइरहेकाे स्राेतले जनाएकाे छ ।
उनीमाथि गरिएका कारवाही फुकवा गर्दै निर्वाध रुपमा सो कम्पनीको औषधी आयात गर्न दिने मेलोमेसो बनेपछि निहित स्वार्थका लागि आईसियूमा जीवन मरणका लागि छटपटाई रहने बिरामीको जीवनमाथि खेलवाड गर्न नहुने भन्दै विभागका कतिपय अधिकारीले महानिर्देशक भट्टराई र खण्डेवालबीचको सम्बन्धमाथि भित्रभित्रै प्रश्न गर्दै हिडेको पाइएको छ ।
विभागीय स्रोतका अनुसार औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायण ढकालले मिति २०७८/१०/४ मा विभागीय निर्णय गर्दै खण्डेवालको स्वामित्वमा रहेको पार्थ फर्माको नाममा स्पोरिम कार्बोपेनम ग्रुपका औषधि डेडिकेटेड फ्याकल्टीबाट उत्पादन नगरी दुवै औषधी एकै फ्याकल्टिमा उत्पादन गर्दै नेपाल आयात हुँदै आएको र यसरी उत्पादन गरिएका औषधिको प्रयोग सघन उपचार केन्द्रमा उपचार हुँदै गरेको बिरामीमा प्रयोग गर्नु घात भएको निष्कर्षसहित पार्थ फर्मालाई उक्त औषधि आयात गर्न प्रतिबन्ध लगाउँदै कारवाही गरेपनि तत्कालीन महानिर्देशक ढकालको विभागबाट मन्त्रालयमा सरुवा भएसंगै महानिर्देशक भटटराइलाई साथमा लिएर खण्डेवालले उक्त औषधि फेरि आयात गर्ने मेलोमेसो मिलाएको स्रोत बताउँछ ।
जसका कारण पछिल्लो समय नेपाली औषधि बजारमा नियमक निकायको गम्भीर लापरवाही संगै मौलाउदै आएको चलखेलका कारण नेपाली औषधि बजारमा गुणस्तरहिन औंषधी बजारमा छ्याप्छ्याप्ती भित्रिनुको अलावा आई.सि.यु उपचार भइरहेका बिरामीको अवस्था थप खतरामा पर्ने भन्दै यस क्षेत्रका जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।