फेरि बढ्यो पेट्रोल डिजेलको मूल्य

काठमाडौँ ७ फागुन । पेट्रोलियम प्रदार्थको मूल्य फेरि वृद्धि भएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३÷३ रुपैयाँ बढेको हो ।

नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मटितेल १ सय २८र१ सय २८ रुपैयाँ पर्नेछ । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो । निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो । यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यसपश्चात् मूल्य घटबढ हुँदै अहिले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।

यस्तै, निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा २ अर्ब १५ करोड रुपैयाँ घाटा हुने जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।