Tuesday, July 28, 2026
Home मुख्य समाचार फैलिदैं ठाउँ-ठाउँमा बर्डफ्लूः काठमाडौंमा पनि भित्रियो

फैलिदैं ठाउँ-ठाउँमा बर्डफ्लूः काठमाडौंमा पनि भित्रियो

काठमाडौं ७ फागुन । मोरङ जिल्लाबाट देखिन सुरु गरेको बर्डफ्लू नेपाल विभिन्न भागमा फैलिन थालेको छ । बर्डफ्लू विभिन्न ठाउँमा फैलिन थालेसँगै यसले ठूलो क्षति पुर्याउन सक्ने खतरा बढेर गएको छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकाभित्र पनि बर्डफ्लू भित्रिएको पाइएको छ । विशेष गरेर कुखुरा तथा चराचुरुङ्गीमा देखा पर्ने बर्डफ्लू फैलने क्रम बढेसँगै काठमाडौं उपत्यकाको एक स्थानलाई गत शुक्रबार मात्र मन्त्रीपरिषद स्तरीय निर्णय गर्दै सरकारले बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ ।

सरकारले काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित गोविन्द मगरले पंक्षी पालेको स्थानलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको हो । मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले काठमाडौं उक्त क्षेत्रसँगै चितवन जिल्लाको राप्ती नगरपालिका ६ स्थित अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानि ती स्थानहरुको वरपरको सय मिटरसम्मको क्षेत्रमा पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनसम्मको अवधिसम्मका लागि बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरेको हो ।

यसअघि, सरकारले बर्ड फ्लू नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्र विन्दु मानी बर्डफ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।