काठमाडौं १६ फागुन । सोमबार दिउँसो ३ बजे तोकिएकै समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलन कक्षमा उपस्थित भए । उनले सुरुमा भूमिका बाँधे । नेकपा एमालेका अध्यक्ष ओलीसमक्ष व्याख्यात्मक घोषणा गरेर जाउँ भन्दा नमानेको भन्दै ओलीले जस्ताको तस्तै पास गर्न खोजेको समेत बताए । त्यसपछि उनले अहिलेको गाँठो फुकाउन त्यहीँ व्याख्यात्मक घोषणा गरेर जाने आइडिया आएको जनाए ।

‘प्रचण्ड’ले संसदमा एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासम्बन्धी ‘आइडिया’ आफूले नै निकालेको र यसमा केही व्यक्तिले आफूलाई ठुलो आँट र हौसला प्रदान गरेको समेत खुलासा गरे ।

भिडियाे हेर्नुहाेस्

अहिले एमसीसीका कारण सत्तारुढ गठबन्धन नै विभाजन हुने हो कि भन्ने अवस्था आएको, त्यतिमात्र नभएर शान्ति प्रकृयाका बाँकी काम तथा यो व्यवस्था नै उल्टिने हो कि भन्ने खतरा आएको सम्बन्धमा आफूले विभिन्न विज्ञसमेतको सुझावका आधारमा संसदमा एमसीसीबारे व्याख्यात्मक प्रस्तावमार्फत सहमति जुटाउन भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

‘एमसीसीका कारण सम्पूर्ण प्रकृयालाई दुर्घटनामा धकेल्न सकिँदैन । पार्लियामेन्टबाट एउटा प्रस्ताव पारित गरौं भनेर पोहोर नै मैले भनेको कुरामा मेरो दिमाग क्लिक भयो,’ प्रचण्डले भने ।

यसबारे परराष्ट्रविद् डा. अर्जुनबहादुर थापाले आफूलाई केही उपाय सुझाएको पनि उनले जानकारी दिए । डा. थापाले एउटा पक्षबाट आधिकारिक रुपमा पार्लियामामेन्टबाट यस्तो व्याख्यात्मक घोषणा गर्दा अर्को पक्षले पनि मान्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधान रहेकोबारे आफूलाई सुझाएको उनको भनाइ थियो ।
यस अतिरिक्त गोविन्द बन्दीले पनि भियना सन्धि अनुसार यस्तो गर्न मिल्छ भनेर आफूलाई सुझाव दिएको र काँग्रेस महामन्त्री गगन थापा लगायत पनि यही बाटोबाट अगाडि जान सकिन्छ भन्नेमा पहल गरिरहेको अवस्थामा आफुहरुकै जोडबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने बाटो रोजिएको उनले बताएका छन् ।

यो विकल्प रोज्दा विनाशर्त एमसीसी अनुमोदन गर्नु नपर्ने, व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्दा कानुनी मान्यता पाउने रहेछ, यो महाकाली सन्धिको संकल्प प्रस्तावजस्तोमात्र हुने होइन रहेछ भन्नेमा आफू विश्वस्त भएको प्रचण्डको भनाइ छ । यसमा लन्डनमा रहँदै आएका अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा. सूर्यप्रसाद सुवेदीले समेत आफूलाई सुझावसहितको चार पाने पत्र पठाएर धेरै आँट दिएको पनि उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।