काठमाडौँ २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदले भत्ता मात्र खाएको बताएका छन् । उनले संघीय संसद्ले कामै गर्न नसकेको भन्दै यसअघि उनले संसद भंग गरेको विषयलाई बचाउ गर्ने प्रयास समेत गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सांसदहरूले भत्ता खानेबाहेक काम नगरेको बताएका हुन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताएका छन् । ‘संसद्लाई निकम्मा बनाएर अहिलेको जस्तो भत्ता खानेबाहेक के काम गरेको छ पार्लियामेन्टले ?’ उनले प्रश्न गरे ।
‘भत्ता खाने काम गरेको छ । मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के काम गर्छ विचरा ? सर्वोच्च अदालतले टिको लगाइदिएकाले सरकार बनाएका के काम गर्छन् विचरा,’ ओलीले भने । ओलीले थपे, ‘पुरानो जनादेशले काम गरेसम्म काम गर्नुपर्छ । त्यसले काम गरेन भने नयाँ जनादेशका लागि जनतामा जानुपर्छ र ताजा जनादेश ल्याउनुपर्छ ।’
प्रतिनिधिसभालाई ओलीले सरकारमा रहँदा दुई पटक विघटन गरेका थिए । दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेको थियो । दोस्रोपटकको विघटन पुनस्स्थापना गर्ने क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।







