काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सत्तागठबन्धन दल नेपाली कांग्रेसलाई नै झस्काउने गरी अभिव्यक्ति दिएका छन् । उनले आगामी चुनावका लागि एमालेसँग तालमेलको ढोका बन्द नभएको जनाउँदै खुल्ला नै रहेको बताएका छन् ।

नेता पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनआवद्ध काँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताएका हुन् ।

‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन ।’ यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उनको दावी छ ।

‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं’, पुनले भने । उनले बहुमत स्थानीय तह जितेका कांग्रेस एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुना योग्य काम भएको उनको भनाइ छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।