नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् । बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कर्स युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।
सरकारले रिक्त रहेको प्रबन्ध निर्देशक पदमा नियुक्ति गर्ने तयारी गरीरहेका बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउन नहुने भन्दै खबरदारी गरेका हुन् ।
टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रबन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कर्स युनियन केन्द्रीय समिति अध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताए । टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उनले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताए ।
‘हामी के चाहन्छौँ भने नेपाल टेलिकममा बाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई ड्राइभ गर्न सक्छ,’ उनले भने, ‘संस्थाको उन्नति, प्रगतिको लागि र संस्थालाई दिगो जीवन्तता दिन पनि यहाँकै सिनियर सर/म्याडमहरू यहाँको एमडी हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौँ ।’
नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरूलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्तिसमेत जनाएको छ ।