काठमाडौं । नेपाल पत्रकार महासंघले आज दोस्रो दिन पनि कान्तिपुर टेलिभिजनमा धर्ना दिँदैछ । कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निश्कासन गरिएका पत्रकार दिपा दाहालको पूर्नवाहाली लगायतको माग राखेर महासंघले हिजोदेखि धर्ना तथा आन्दोलन सुरु गरेको हो ।
आन्दोलनको पहिलो दिन पत्रकार महासंघको नेतृत्वमा तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यलयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरेको थियो । आज पनि सोही समयमा कान्तिपुर टिभीको गेट अगाडी धर्ना दिइने भएको छ ।
कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत झण्डै ८० प्रतिशत भन्दा बढी पत्रकारलाई राज्यले निर्धारण गरेको न्यूनतम पारिश्रमिकसम्म नदिएको महासंघले जनाएको । त्यस्तै पत्रकार दिपा दाहाललाई आफैले काम गर्न बोलाएर दुई वर्षसम्म अन्यत्र काममा जान नपाउने भन्दै आफैले जागिर अफर गरेर ल्याएको र कान्तिपुरकै अर्को भगिनी संगठनमा १० वर्ष अगाडी भएको लैगिक हिंसाको विषयलाई आधार बनाएर करार नवीकरण नगरेर निश्कासन गरेको थियो ।
त्यसको विरोधमा पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा धर्ना कार्यक्रम आयोजना गरेको हो ।
कान्तिपुर टेलिभिजन ब्यवस्थापन पक्षले मागको सम्बोधन नगरे थप संर्घषका कार्यक्रम राखेर आन्दोलनलाई निश्कर्षमै पुराई छोडने महासंघका महासचिव रोशन पुरीले धर्ना कार्यक्रममा ब्यक्त गरेका छन् । पत्रकार महासंघले वैशाख ७ र ८ गते नागरिक दैनिकमा पनि धर्नाको कार्यक्रम गर्ने गरी कार्यक्रम घोषणा गरेको छ ।