Thursday, August 27, 2026
29.1 C
Kathmandu
Home मुख्य समाचार कान्तिपुरले पत्रकार निकालेपछि महासंघद्धारा दोस्रो दिन पनि धर्ना

कान्तिपुरले पत्रकार निकालेपछि महासंघद्धारा दोस्रो दिन पनि धर्ना

बैशाख ६, काठमाडौ । नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा आज दोस्रो दिन पनि धर्ना दिएको छ । कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामबाट निश्कासन गरिएका पत्रकार दिपा दाहालको पुनर्वाहाली लगायतको माग राखेर महासंघ हिजोदेखि चरणवद्ध संर्घषको कार्यक्रममा उत्रिएको हो ।

आन्दोलनको पहिलो दिन पत्रकार महासंघको नेतृत्वमा तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरेको थियो ।

कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निश्कासन गरिएका पत्रकार दिपा दाहाल लगायतको पुनर्वाहाली लगायतको माग राखेर नेपाल पत्रकार महासंघले पहिलो चरणको कार्यक्रम अन्तर्गत सोमबार र मंगलबार दुई दिन धर्ना कार्यक्रम आयोजना गरेको थियो ।

महासंघका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी लगायतको उपस्थितिमा दोस्रो दिन पनि तिनकुनेस्थित टेलिभिजन कार्यलय अगाडि मध्यान्ह १२ वजेदेखि दिउँसो १ बजेसम्म महासंघले धर्ना दिएको थियो ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले महासंघ जुन उद्देश्यका साथ आन्दोलनमा उत्रिएको हो, त्यसको गन्तब्यमा नपुग्दासम्म पछि नहट्ने बताउनुभयो । पत्रकार महासंघले जहिल्यै लडेका लडाईलाई जितको स्थानमा पुराएरै छोड्ने गरेको भन्दै अध्यक्ष पोख्रेलले सडकमै ओर्लिसकेको महासंघ अब पत्रकार दिपा दाहाल लगायत विनाकारण निकालिएका पत्रकारको पुनर्वाहाली र श्रम ऐन कार्यान्वयनको तहमा कान्तिपुर नपुग्दासम्म आन्दोलन नरोकिने बताउनुभयो ।

अध्यक्ष पोखरेलले सम्वाद, सडक संर्घष र कानुनी प्रक्रियाका आधारमा श्रमजीवी पत्रकारको पक्षमा महासंघले काम गरिरहेको बताउनुभयो । उहाँले तत्काल समस्या समाधानका लागि कान्तिपुर व्यवस्थापन पक्षलाई आग्रह गर्नुभयो ।

महासंघका सल्लाहकार निर्मला शर्माले निष्काशित पत्रकार दिपा दाहाल लगायत विना कारण निकालिएका पत्रकारको पुनर्वाहालीको माग गर्दै महासंघले शुरु गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनु भयो । उहाँले एक जना पत्रकारको मात्र माग लिएर पत्रकार महासंघ अहिले आन्दोलनमा आएको नभई सबै पत्रकारको समस्या बोकेर आन्दोलनमा आएको बताउनुभयो ।

उहाँले आन्दोलनमा देशभरका सबै पत्रकारहरुको ऐक्यवद्धता रहेको आफुले पाएको बताउनुभयो । कान्तिपुर टेलिभिजनमै कार्यरत धेरैजसो पत्रकारहरु आफुसँग पनि सम्र्पकमा आएको र उनीहरुले पनि आन्दोलनप्रति भौतिक सहभागिता जनाउन नसकेपनि नैतिक समर्थन र ऐक्यवद्धता जनाएको सल्लाहकार शर्माले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरलाई अप्ठ्यारो पर्दा नेपाल पत्रकार महासंघले सहयोगीको रुपमा काम गरेको स्मरण गर्दै व्यावसायिक आइकोन भनेर कान्तिपुरले गर्ने श्रमजीवी पत्रकार विरोधी हर्कतमा महासंघ चुप लागेर बस्न नसक्ने बताउनु भयो । उहाँले अब पनि कान्तिपुरले समस्या समाधानमा चासो नदेखाए कान्तिपुरका अन्य सञ्चार संस्थामा पनि महासंघले आन्दोलन शुरु गर्ने बताउनुभयो ।

महासचिव रोसन पुरीले पत्रकार दिपा दाहालको पुनर्वाहाली र न्यूनतम पारिश्रमिक मात्र होइन, अव श्रमजीवी पत्रकार ऐनको सम्पूर्ण रुपमा कार्यान्वयन कान्तिपुरले गर्नुपर्ने बताउनुभयो । ‘महासंघ अब समग्रतामै कान्तिपुरले सबै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गरोस भन्ने पक्षमा छ, कान्तिपुरले अब पत्रकार विरोधी हर्कत गर्ने छुट पाँउदैन,’ महासचिव पुरीले भन्नुभयो ।

महासंघको आन्दोलनलाई खेलाँचीका रुपमा नलिन आग्रह गर्दै महासचिव पुरीले आवश्यक परे महासंघ कान्तिपुरका अन्य संस्थाहरुमा पनि धर्नामा आउने, विदेशी दातृ निकायहरुमा कान्तिपुरले श्रमजीवी पत्रकारमाथी गरेको शोषण र लैगिक हिंसाका विषयमा समेत महासंघले पत्राचार नै गरेर जानकारी गराउने लगायतका कार्यक्रम पनि महासंघले गर्न वाध्य हुने बताउनुभयो ।

धर्ना कार्यक्रममा महासंघका लेखा समिति संयोजक लेखानाथ न्यौपाने, ओरेक नेपालका प्रोग्राम अफिसर सविता नेपाली, लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडी, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव टेनिस रोका, पत्रकार महासंघ ललितपुर शाखाका उपाध्यक्ष रमेश महतरा, पत्रकार निशा वली लगायतले पनि आन्दोलनप्रति ऐक्यवद्दता जनाउनुभएको थियो ।

धर्ना कार्यक्रममा महासंघका सचिव गोविन्द चौलागाई केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, माधव पौडेल, सन्चु ब्लोन, लेखा समिति सदस्य मुकुन्द भण्डारी, कान्तिपुरबाट निश्कासित पत्रकार दिपा दाहाल लगायत पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।