काठमाडौं । पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ । विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल भ्रमणमा आउन थालेका छन् । उनीहरूले द्विपक्षीय भेटघाटको कामलाई निरन्तरता दिँदै आएका छन् ।

रुस–युक्रेन द्वन्द्वमा नेपाल युक्रेनको पक्षमा उभिएसँगै अमेरिका र पश्चिमा मुलुकका अधिकारीको नेपाल भ्रमण बाक्लिएको हो । नेपालले आफ्नो असंलग्न विदेश नीति छाड्दै युक्रेनको पक्ष लिएको थियो । राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्दै ल्याएको प्रस्तावको पक्षमा उभिएको थियो । साथै दोस्रोपटक युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा मतदान गरेसँगै युक्रेनको पक्ष लिएको थियो । त्यसपछि नेपालमा अमेरिकीनिकट रहेका पश्चिमी मुलुकहरूको सक्रियता र चासो बढेको पाइएको छ ।

स्विट्जरल्यान्डको विदेश मन्त्रालयका एसिया प्रशान्त क्षेत्र हेर्ने एसिस्टेन्ट स्टेट सेक्रेटरी आन्द्रियस राफेल नागेली हाल नेपाल भ्रमणमा छन् । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सोमबार परराष्ट्र मन्त्रालयमा भेटेका छन् । परराष्ट्र मन्त्रालयले विभिन्न समयमा हुने सो भेटलाई नियमित कूटनीतिक बैठक भनेको छ । त्यस्तै, वैशाखको तेस्रो हप्ता फ्रान्सेली सेनाको अन्तर्राष्ट्रिय सम्बन्ध मामिला हेर्ने ब्रिगेडियर जनरल जियोफ्रोय डी लारौजियरे पनि नेपाल आएका थिए । उनले रक्षासचिव किरणराज शर्मा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटेका थिए ।

नेपालमा एमसीसी पास भएपछि अमेरिकाले थप अनुदान सहयोग गरेको छ । नेपालको संसद्बाट एमसीसी पासपछि वैशाखको पहिलो साता अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङले नेपाल भ्रमण गरेकी थिइन् । त्यसपछि दोस्रो साता अमेरिकी सांसदको पाँच सदस्यीय टोली नेपाल आइपुगेका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्टर्न जिलिब्रान्ड (न्युयोर्क)को नेतृत्वमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्यान्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कंग्रेसनल डिस्ट्रिक्ट, न्युयोर्क) आएका थिए ।

अमेरिकी सांसदहरू आएको एक महिना पनि बित्न नपाउँदै आउँदो जेठ ६ देखि ८ गतेसम्म अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मामिला हेर्ने विशेष संयोजक उज्रा जिया नेपाल भ्रमण आउने तयारीमा छिन् । उनी नेपाल आउनुअघि भारत भ्रमणमा रहने र तिब्बती धर्म गुरु दलाई लामालाई भेट्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् । – राजधानी दैनिक

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।