राहुल गान्धीको नेपाल भ्रमणले भारतमा राजनीतिक भूकम्प

काठमाडौं । निजी भ्रमणका लागि अचानक काठमाडौं आइपुगेका भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धीको भ्रमणको विषयले भारतीय राजनीति तातेको छ । नेपालमा रहँदा ठमेलको नाइट क्लबमा पुगेको विषयले भारतमा तरंग पैदा गरेको हो । साथीको विवाहमा सहभागी हुन सोमबार नेपाल आइपुगेका गान्धी सोही रात ठमेलको एउटा नाइट क्लब पुगेको विषयको चर्चा भारतमा भइरहेको हो ।

भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चार माध्यम र राजनीतिक वृत्तले भने मंगलबार दिनभर गान्धीको नाइट क्लबमा रमाइरहेको भिडियो फुटेज शेयर गर्दै विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । विशेष गरी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र गान्धीको पार्टी भारतीय राष्ट्रिय कांग्रेसका समर्थक र नेताहरूबीच यस विषयलाई लिएर चर्को रुपमा सवाल–जवाफ गरिरहेको पाइएको छ । उनी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् ।

सुम्निमा म्यानमारका लागि नेपाली पूर्वराजदूत भीम उदासकी छोरी हुन् । उनले लामो समय अमेरिकी समाचार संस्था सीएनएनमा काम गरेकी थिइन् । उनको लिंकदेन प्रोफाइलमा उल्लेख भएअनुसार सन् २०१० देखि २०१७ सम्म उनले सीएनएनका लागि दिल्लीबाट रिपोर्टिङ गरेकी थिइन् । दिल्लीमा रहेर पत्रकारिता गर्ने क्रममा गान्धी र उदासबीच मित्रता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।