केपी ओलीको जन्मथलोमा एमाले पराजित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मथलोमा नै एमाले पराजित भएको छ । तेह्रथुममा सत्ता गठबन्धन र नेकपा एमालेले तीन/तीन वटा स्थानीय तह जितेपनि एमाले अध्यक्ष ओलीको थन्मथलो आठराई र ओली जन्मिएको वडामा एमाले परािजत बन्न पुग्यो ।

आठराईमा कांग्रेसका दिलकुमार पाहीम निर्वाचित भए । ४,६९२ मत ल्याएर पाहीमले एमालेका रामचन्द्र थपलियालाई पराजित गरे । थपलियाले भने ४,००८ मत मात्रै ल्याए । आठराई जितेपछि तेह्रथुममा गठबन्धनका नेताहरुले ‘लाल किल्ला’ भत्काएको नारा लगाएका छन् ।आठराई–४ इवाको जितलाई त गठबन्धनका दलहरुले उत्सवकै रुपमा लिए । ओलीले आफ्नो जन्म गाउँ भनेर प्रचार गर्नु र एमाले हराउनकै निम्ति गठबन्धन बनेकाले पनि इवाको जितलाई प्रतिष्ठाका रुपमा लिइएको देखिन्छ ।

केपी ओली प्रधानमन्त्री हुँदा ११ फागुन ०७६ मा आफ्नो ६९औं जन्मदिवस मनाउन इवा पुगेका थिए । जन्म उत्सव मनाउने क्रममा ओलीले बृद्धाहरुलाई सारी र पछ्यौरी, पुरुषहरुलाई भादगाउँले टोपी र ज्याकेट, बालबालिकालाई डायरी बाँडेका थिए ।

तिनै इवामा यसपटक कांग्रेसका खगेन्द्र गुरुङले वडाध्यक्ष जिते । पहिलोपटक इवा जितेपछि गठबन्धनका कार्यकर्ताले ‘लाल किल्ला तोडियो, गठबन्धन जोडियो’ जस्ता नारा लगाए ।