बालेनले १७ हजार मत कटाए, यस्तो छ ६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम

काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगरपालिकामा १७ हजार मत कटाएका छन् । पछिल्लो परिणाम अनुसार उनले १७ हजार ३१ मत प्राप्त गरेका छन् भने दोस्रोमा ८ हजार ८ सय ७६ मत ल्याएर नेकपा एमालेका केशव स्थापितले पछाइरहेका छन् ।

पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । उनले १५ हजार २ सय ८८ प्राप्त गर्दा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १३ हजार ३ सय २९ मत ल्याएका छन् ।

निक्कै चर्चामा रहेको भरतपुर महानगरपालिकामा पनि गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । उनले १० हजार ४ सय ४१ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५ सय ९७ मत पाएका छन् । ललितपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार चिरीबाबु महर्जनले दोब्बरले अग्रता कायम गरेका छन् । उनले ११ हजार ९२० मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५ सय ७० मत पाएका छन् ।

वीरगञ्जमा जसपाका राजेशमान सिंहले ११ हजार ९ सय ९५ मत ल्याएर अग्रता कायम राखेका छन् भने एमालेका विजयकुमार सरावगीले ५ हजार ६ सय ३५ मत ल्याएर दोस्रो स्थानमा छन् । यस्तै, विराटनगरमा कांग्रेसका नागेश कोइरालाले १४ हजार ४ सय ८६ मत ल्याएका छन् भने एमालेका सागरकुमार थापाले १० हजार ९ सय ३४ मत ल्याएर पछाइरहेका छन् । सबै महानगरपालिकाको मतगणना जारी छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।