दुर्घटनाग्रस्त अवस्थामा भेटियाे ताराकाे विमान, जिवित भेटिएनन्

आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारीअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको हो। उक्त भग्नावशेषको तस्बिर सेनाले पठाएको छ।

सम्पर्कविहीन जहाज खोजीका लागि गएको सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाज फेला पारेका हुन्। जहाज दुर्घटनाग्रस्त भएका ठाउँमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ। थासाङ २, मुस्ताङको सानोशरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ सैनिक प्रवक्ता सिलवालले भने।

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।